काठमाडौं— नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ। दिउँसो १ बजे राष्ट्रिय सभागृहमा एकता सभा आयोजना गरिने सायमीले जानकारी दिएका छन्।
सायमी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबाट विद्रोह गर्दै नेकपासँग एकता गर्न लागेका हुन्। राष्ट्रिय मुक्ति पार्टीमा उनी वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा थिए।
एकतासँगै सायमी आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट नेकपाको तर्फबाट उम्मेदवार बन्ने तयारीमा छन्। चुनावको केही समयअघि नेकपासँग एकता गर्न लागेको उनको भनाइ छ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा सायमी काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनले १३ हजार ७७० मत प्राप्त गरेका थिए। त्यसपछि उनी स्वतन्त्र अभियानमा सक्रिय रहँदै वैकल्पिक तथा स्वतन्त्र शक्तिलाई एकीकृत गर्ने प्रयासमा लागेका थिए।
त्यसै वर्ष सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि उनले काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिएका थिए। उक्त चुनावमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विराजभक्त श्रेष्ठसँग पराजित भएका थिए। सो निर्वाचनमा सायमीले ६ हजार १७९ मत पाएका थिए।
५२ वर्षीय सायमी काठमाडौंको कालीमाटी निवासी हुन्। काठमाडौंका रैथाने समुदायबीच परिचित सायमीले रैथानेका मुद्दा, पहिचान र संस्कृतिको संरक्षणका लागि विभिन्न आन्दोलन र अभियान सञ्चालन गर्दै आएका छन्।



















