काठमाडौँ—सरकारका मन्त्रीहरूको सम्पत्ति विवरणमा करोडौँ रुपैयाँ बराबरको सुन देखिएपछि नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले व्यंग्यात्मक टिप्पणी गरेका छन। उनले सामाजिक सञ्जालमार्फत सरकारको सुशासन र समृद्धिको दाबीमाथि कटाक्ष गरेका हुन् ।
सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै बाँस्कोटाले पछिल्ला दिनमा मन्त्रीहरूको सम्पत्ति विवरणबारे मिडिया र सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको उल्लेख गरेका छन् । यही सन्दर्भमा उनले व्यंग्य गर्दै मन्त्रीहरूको ‘खेतबारीमै पहेँलपुर तोरी फुलेको’ टिप्पणी गरेका हुन् ।
‘आजका मिडिया र सामाजिक सञ्जाल हेर्दा रमाइलो लाग्यो। देश लंका बनिसकेछ, डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीहरूको खेतबारीमा भने पहेँलपुर तोरी फुलेछ। समृद्धि आएछ—सुशासन त्यहीँबाट सुरु हुने रहेछ,’ भन्दै उनले लेखेका छन् ।
अर्को प्रसंगमा उनले ‘जहाँ कंगाल त्यहीँ चण्डाल’ भन्ने उखान उल्लेख गर्दै वर्तमान अवस्थाले त्यो धारणा बदलिएको संकेत गरेका छन् । ‘म झन् खुसी छु, किनकि जहाँ कंगाल त्यहीँ चण्डाल भन्ने कुरा अब हटेछ,’ उनको कटाक्ष छ।
बाँस्कोटाको यो अभिव्यक्ति सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति विवरण, त्यसको स्रोत र सुशासनप्रति उठिरहेका प्रश्नसँग जोडेर हेरिएको छ। पछिल्लो समय मन्त्रीहरूको सम्पत्ति विवरणमा उल्लेख गरिएको सुन तथा अन्य सम्पत्तिबारे सामाजिक सञ्जालमा तीव्र बहस भइरहेको छ।
यससँगै ती सम्पत्तिको स्रोत सार्वजनिक गर्नुपर्ने माग पनि थप सशक्त रूपमा उठ्न थालेको छ।




















