झापा—नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज निजी क्षेत्रसँग अन्तरसंवाद गर्ने भएका छन्। आफ्नो निर्वाचन क्षेत्र झापा–५ अन्तर्गत दमकमा दिउँसो ३ बजे अन्तरक्रिया कार्यक्रम तय गरिएको छ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) को आयोजनामा हुने कार्यक्रममा दुईवटा प्यानल डिस्कसन समेत राखिएको छ। हिसानका अध्यक्ष युवराज शर्माका अनुसार “नेपालको निजी क्षेत्रसँग पूर्व प्रधानमन्त्री केपी शर्मा ओली” विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको हो। अन्तरसंवादमा निजी क्षेत्रका मुख्य ६ वटा क्षेत्र समेटेर प्यानल छलफल गरिने जनाइएको छ।

छलफलमा निजी क्षेत्र, नीतिगत सुधार तथा युवा–केन्द्रित आर्थिक रूपान्तरणका विषयमा शिक्षा, ऊर्जा, उद्योग–व्यवसाय, स्वास्थ्य र सूचना प्रविधि क्षेत्रमा नेपालका सम्भावना र चुनौतीबारे बहस हुनेछ।

प्यानलमा हिसानका पूर्व अध्यक्ष रमेश कुमार सिलवाल, इपानका अध्यक्ष गणेश कार्की, प्याव्सनका पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरी, मेडिकल एसोसिएसनका अध्यक्ष डा. ज्ञानेन्द्र कार्की, आईटी उद्यमी सुलभ बुढाथोकी तथा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं सहभागी हुने कार्यक्रम छ।

कार्यक्रम दमक चौकस्थित गोरखा डिपार्टमेन्टको सगरमाथा हलमा आयोजना गरिनेछ। अध्यक्ष ओली आजै काठमाडौंबाट झापा पुग्ने कार्यक्रम रहेको छ।