पोखरा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जोडिएको सहकारी प्रकरणबारे प्रश्न उठाउँदै मतदाताहरूले पार्टी उम्मेदवारमाथि आक्रोश व्यक्त गरेका छन्।
पोखरामा आज आयोजित उम्मेदवार–मतदाता संवाद कार्यक्रममा सूर्यदर्शन सहकारीका बचतकर्ताहरूले सहकारी रकम फिर्ताको विषय उठाएका हुन्। कार्यक्रममा सहभागी बचतकर्ताले आफूहरूको रकम लामो समयदेखि फिर्ता नहुँदा आर्थिक समस्या झेल्नुपरेको गुनासो गरे।
स्थानीय कृष्णप्रसाद जैसीले कास्की–३ की रास्वपा उम्मेदवार बिना गुरुङलाई आफ्ना छोराको ८० हजार रुपैयाँको विद्यालय शुल्क बिल बुझाउँदै बचत रकम फिर्ता गराउन पहल गरिदिन माग गरे। उनले बचत फिर्ता नहुँदा परिवार आर्थिक संकटमा परेको र छोराले वार्षिक परीक्षा दिनसमेत कठिन अवस्था आएको बताए।
कार्यक्रममा जैसीले सहकारीमा राखेको रकम हिनामिना भएको आशंका व्यक्त गर्दै पीडितलाई छिटो न्याय र रकम फिर्ताको व्यवस्था गर्न आग्रह गरे।
उम्मेदवार गुरुङले उक्त बिल पार्टी सभापतिसम्म पुर्याउने वचन दिएकी छन्। तर सहकारी ठगी सम्बन्धी आरोपबारे भने उनले कार्यक्रममा विस्तृत प्रतिक्रिया दिइनन्।
सहकारी प्रकरणबारे सम्बन्धित निकायमा अनुसन्धान प्रक्रिया अघि बढिरहेको बताइँदै आएको छ।


















