काठमाडौं — आगामी २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाड्ने नेता–कार्यकर्ताको संख्या बढ्दै गएको देखिएको छ। विभिन्न कारण देखाउँदै पछिल्ला दिनमा धमाधम पार्टी परित्यागका घोषणा भइरहेका छन्।

पार्टीभित्र आर्थिक पारदर्शिता, निर्णय प्रक्रियाको शैली र नेतृत्व तहबीचको समन्वयलाई लिएर असन्तुष्टि बढेको बताइन्छ। विशेषगरी पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साह बीच समन्वय अभाव तथा कार्यशैलीप्रति असन्तोष देखाउँदै केही नेताहरू बाहिरिएको दाबी गरिएको छ।

यसै क्रममा पार्टीको केन्द्रीय निर्वाचन परिचालन कमिटीमा सक्रिय रहेका दिनेश आचार्यले औपचारिक रूपमा पार्टी परित्याग गरेका छन्। उनी केन्द्रीय वित्त तथा मौद्रिक एवं पुँजीबजार विभागमा समेत आबद्ध थिए।

निर्वाचन नजिकिँदै गर्दा परिचालन रणनीति, स्रोत व्यवस्थापन र आर्थिक समन्वयमा संलग्न नेताकै बहिर्गमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ। निर्वाचन अभियानको तयारीमा प्रत्यक्ष रूपमा जोडिएका व्यक्तिले जिम्मेवारीकै बीचमा अलग हुने निर्णय लिनुले नेतृत्व तहमा समन्वय कमजोरीको संकेत गरेको विश्लेषण गरिएको छ।

पार्टी स्रोतका अनुसार आचार्य संगठन सञ्चालन शैली, निर्णय प्रक्रियामा पारदर्शिता र वित्तीय प्राथमिकताका विषयमा असन्तुष्ट थिए। यद्यपि, उनले भने व्यक्तिगत निर्णयका आधारमा पार्टी छाडेको बताएका छन्।

रास्वपाले स्थापना कालदेखि आफूलाई वैकल्पिक राजनीतिक शक्तिको रूपमा प्रस्तुत गर्दै आएको छ। युवामुखी नेतृत्व, पारदर्शिता र संस्थागत सुधारका एजेन्डासहित छोटो समयमै राष्ट्रिय राजनीतिमा प्रभाव जमाएको यो दलमा पछिल्लो समय आन्तरिक मतभेद सार्वजनिक हुन थालेका छन्। विभिन्न तहका नेताहरू बाहिरिनु र जिम्मेवार पदाधिकारीले राजीनामा दिनुले संगठनात्मक स्थायित्वमाथि प्रश्न उठेको देखिन्छ।

निर्वाचन परिचालन कमिटी कुनै पनि दलका लागि रणनीतिक संरचना मानिन्छ। उम्मेदवार चयन, प्रचार रणनीति, क्षेत्रीय समन्वय, आर्थिक परिचालन र स्वयंसेवक व्यवस्थापनजस्ता जिम्मेवारी यही संयन्त्रले सम्हाल्ने भएकाले त्यहाँ रहेका नेताको बहिर्गमनले चुनावी तयारीमा प्रत्यक्ष प्रभाव पार्न सक्ने आँकलन गरिएको छ। रास्वपाले भने यसलाई सामान्य आन्तरिक प्रक्रिया भन्दै संगठन मजबुत रहेको दाबी गरेको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार विस्तारको चरणमा रहेका दलमा मतभेद देखिनु स्वाभाविक भए पनि निर्वाचनको ठीक अघि जिम्मेवार व्यक्तिहरू अलग हुनु सकारात्मक सन्देश नहुने बताइन्छ। मतदातामाझ स्थायित्व, स्पष्टता र एकताबद्ध सन्देश आवश्यक पर्ने समयमा यस्तो घटनाले थप दबाब सिर्जना गर्ने आकलन गरिएको छ।