चरिकोट — तत्कालीन नेकपा एकीकृत समाजवादी का पोलिटब्युरो सदस्य तथा दोलखाका संस्थापक कम्युनिस्ट नेता शिव प्रसाद भण्डारीसहित नेता–कार्यकर्ताहरु चुनावको मुखैमा नेकपा एमाले मा समाहित भएका छन्।

आइतबार राति चरिकोटमा भएको वार्तापछि दोलखा जिविसका पूर्वउपसभापतिसमेत रहेका भण्डारीसँगै भीमेश्वर नगरपालिकाका पूर्वउपमेयर शान्तबहादुर बस्नेत, थामप्रसाद आमगाईलगायत नेताहरु एमालेमा प्रवेश गरेका हुन्।

उनीहरुले एमाले उम्मेदवार पार्वत गुरुङ लाई जिताउने अभियानसहित आफूहरु “पहिलेकै घर” फर्किएको बताएका छन्। भण्डारीले आफू सबैको अभिभावक भएको उल्लेख गर्दै माओवादीसँगको एकतामा जान नसकेकाले आफैंले बनाएको घर एमालेमा फर्किने निर्णय गरेको सुनाए।

भण्डारीसँगै साबिक नेकपा एसका विभिन्न तहका नेता–कार्यकर्ताहरु एमालेमा समाहित भएको जिल्ला कमिटी उपाध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिएका छन्।