रुपन्देही— बुटवलमा निर्वाचित वडाध्यक्षसहित ५५ जना युवा नेकपा एमालेमा समाहित भएका छन्। तत्कालीन नेकपा एकीकृत समाजवादी बाट बुटवल उपमहानगरपालिका वडा नं २ मा वडाध्यक्षमा निर्वाचित सुनिल शाक्यसहितका युवाहरु एमाले फर्किएका हुन्। उनीहरुलाई एमाले उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नं २ का उम्मेदवार विष्णु पौडेल ले स्वागत गरेका हुन्।

नेपाली कम्युनिस्ट पार्टीलगायत विभिन्न दलमा आवद्ध युवा नेताहरु पौडेललाई जिताउने अभियानमा सामेल भएको जनाइएको छ। एमालेका युवा नेता तथा रुपन्देही–२ निर्वाचन परिचालन समिति सह–संयोजक राजु गुरुङको पहलमा वडाध्यक्ष शाक्यसहित शंकर घर्ती, विक्रम बस्याल, सुमन गुरुङ, प्रवेश सुनार, राजु क्षेत्री, आकाश गुरुङ, झविन गौतम, धनसिंह खाम्चालगायतका युवाहरु पौडेलको समर्थनमा उभिएका छन्।

उनीहरुले यस क्षेत्रको दीर्घकालीन विकास र समृद्धिका लागि विष्णु पौडेलको विकल्प नभएको दाबी गर्दै भविष्यमा प्रधानमन्त्री बन्न सक्ने व्यक्तित्व भएकाले साथ दिन तयार रहेको बताएका छन्।

युवाहरुको प्रवेशसँगै रुपन्देही–२ मा आफ्नो जित सुनिश्चिततर्फ उन्मुख भएको भन्दै नेता गुरुङले सामाजिक सञ्जालका भ्रममा नपरी फराकिलो जितका लागि मेहनत गर्न युवालाई आग्रह गरेका छन्। एमाले परिवारसँग पुनर्मिलन र युवाको साथले आफूलाई थप उत्साहित बनाएको उम्मेदवार पौडेलले बताएका छन्। आइतबार राति उनले युवाहरुलाई स्वागत गरेको तस्बिर सार्वजनिक गरेका छन्।