धादिङ — पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ।
पोखराबाट काठमाडौं आउँदै गरेको ग२ ख १४२१ नम्बरको बस त्रिशूली नदी किनारमा खसेको थियो। दुर्घटनामा ११ जना पुरुष र ६ जना महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन्। बसमा कुल ४५ जना सवार रहेको बताइएको छ। दुर्घटनामा घाइते भएका २८ जनाको उद्धार गरी अस्पताल पठाइएको छ। घाइतेहरुको पहिचान खुलिसकेको बताइएको छ।
दुर्घटनास्थलबाट सबै घाइतेको उद्धार कार्य सम्पन्न भएको छ। केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
जिल्ला प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित तीनै सुरक्षा निकाय तथा स्थानीयवासीले संयुक्त रूपमा उद्धार कार्य सञ्चालन गरेका थिए।