रुपन्देही —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पश्चिम नवलपरासीमा पार्टी  छाड्ने क्रम बढ्दै गएको छ। सोमबार सुस्ता गाउँपालिकाका सचिव कृष्णप्रसाद पन्थले रास्वपा परित्याग गरेको घोषणा गरेका छन्। पार्टीको भनाइ र गराइमा एकरुपता नदेखिएको तथा अवसरवादी प्रवृत्तिको प्रभाव बढ्दै गएको आरोप लगाउँदै उनले पार्टी छाडेको बताएका हुन्।

रास्वपाप्रति रहेको प्रारम्भिक आशा क्रमशः क्षीण हुँदै गएकाले बाध्य भएर अलग हुनुपरेको पन्थको भनाइ छ। इमान्दार नेता–कार्यकर्तालाई पाखा लगाउने र अवसरवादीहरूलाई भित्र्याउने काम भइरहेको उनले आरोप लगाए। अब आफू कुनै पनि पार्टीमा प्रवेश नगरी स्वतन्त्र रूपमा रहने उनले बताएका छन्।

यसअघि सुस्ताकै रास्वपा उपसभापति गुप्त सेन ठकुरीले पनि पार्टी परित्याग गरेका थिए। उनले पनि पार्टीको व्यवहार र अभिव्यक्तिमा एकरुपता नदेखिएको र देशलाई निकास दिन सक्ने स्पष्ट दिशा नदेखिएकाले अलग हुनुपरेको बताएका थिए।

उक्त क्षेत्रमा कांग्रेसका नेता बिक्रम खनाललाई रास्वपामा भित्र्याएर टिकट दिइएको विषयलाई लिएर स्थानीय कार्यकर्ता असन्तुष्ट देखिएका छन्।