कपिलवस्तु—भारततर्फ लैजान लागेको ठूलो परिमाणको लागूऔषध चरेस र अफिमसहित कपिलवस्तु प्रहरीले पाँच महिलालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार आइतबार साँझ कृष्णनगर नगरपालिका–२ स्थित पुरानो बसपार्कबाट भारततर्फ जाँदै गरेका पाँच महिलालाई रोकेर चेकजाँच गर्ने क्रममा तीन जनाको साथबाट १५ किलोभन्दा बढी लागूऔषध बरामद भएको हो।
दाङको राप्ती गाउँपालिका–३ मसुरिया निवासी ३४ वर्षीया रति रामाले कम्मरमा कपडाले बेरेर लुकाइछिपाइ लैजान लागेको अवस्थामा ५ किलो २२५ ग्राम चरेसजस्तो देखिने कालो गिलो पदार्थ बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले जानकारी दिए।
त्यस्तै, कपिलवस्तुको विजयनगर गाउँपालिका–४ ज्योतिनगर निवासी ४५ वर्षीया पिनीसराको साथबाट ५ किलो अफिमजस्तो देखिने गिलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। सोही ठाउँकी ५६ वर्षीया नन्सरी घर्ती मगरको साथबाट पनि थप ५ किलो अफिमजस्तो देखिने पदार्थ बरामद भएको छ।
प्रहरीले उनीहरूसँगै दाङको राप्ती गाउँपालिका–३ मसुरियाकी ४३ वर्षीया विमला पुन र पर्साको ठोरी गाउँपालिका–२ टाउन प्लान घर भई हाल विजयनगर–४ ज्योतिनगर बस्ने ४८ वर्षीया चुमामामी लामिछानेलाई पनि पक्राउ गरेको छ।
पक्राउ परेका पाँचै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बरामद पदार्थको परीक्षणसँगै लागूऔषधको स्रोत, भारततर्फ लैजान खोज्नुको उद्देश्य तथा घटनामा अन्य व्यक्ति वा संगठित सञ्जालको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।




















