झापा —युवती राखेर यौन व्यवसाय सञ्चालन हुने गरेको गुनासो बढेपछि प्रहरीले झापाको बिर्तामोडस्थित मेची आँखा अस्पतालदेखि सैनिकमोड क्षेत्रका विभिन्न होटलमा सर्च अपरेसन सञ्चालन गरेको छ।
इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले सोमबार राति उक्त क्षेत्रका होटलमा छापा मारेको हो। होटलमा अनैतिक गतिविधि हुने गरेको गुनासोका आधारमा सर्च अपरेसन सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सैनिकमोडस्थित होटल सेभेन इनका सञ्चालक गंगा गुरुङसहित तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा होटलमा रहेका युवतीसमेत रहेको प्रहरी स्रोतले जनाएको छ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकले अनैतिक गतिविधि हुने गरेको गुनासो आएका होटलमा सर्च अपरेसन जारी रहेको जानकारी दिए।
प्रहरीले होटल तथा त्यस आसपासका क्षेत्रमा हुने गतिविधिमाथि निगरानी बढाउँदै घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।




















