झापा—झापाको दमकमा १३ वर्षीया बालिकालाई प्रलोभनमा पारी होटलमा लगेर यौनधन्दामा संलग्न गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका–९ देवीझोडाकी, हाल दमक बस्दै आएकी जुनु भन्ने पार्वती ऋषिदेव र दमक–८ का ५५ वर्षीय गणेशप्रसाद अधिकारी छन्। अधिकारीले सञ्चालन गर्दै आएको मनकामना होटल एण्ड लजमा बालिकालाई लगेर यौनधन्दामा लगाएको आरोप उनीहरूमाथि छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ऋषिदेवले बालिकालाई ललाइफकाई गरी होटलमा पुर्याएको र होटल सञ्चालक अधिकारीले यौनधन्दामा लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बालिका साउन ३१ गते घरबाट हिँडेपछि परिवारको सम्पर्कमा आएकी थिइनन्। परिवारले खोजतलासका लागि इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएपछि प्रहरीले खोजी सुरु गरेको थियो। सोही क्रममा बालिकाको अवस्थाबारे जानकारी पाएपछि घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई भदौ ७ गते झापा जिल्ला अदालतमा उपस्थित गराई मानव बेचबिखन तथा ओसारपसार कसुरमा म्याद थप गरिएको छ। प्रहरीले घटनामा संलग्न अन्य व्यक्ति तथा घटनाको विस्तृत पक्षबारे अनुसन्धान भइरहेको जनाएको छ।




















