इलाम—कुखुराको भाले चोरी भएको विषयमा भएको विवादका क्रममा हत्या गरेको मुद्दामा दोषी ठहरिएका इलामका एक व्यक्ति २३ वर्षपछि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–३ निवासी कमल भन्ने प्रेमकुमार श्रेष्ठ रहेका छन्। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार उनलाई गत कात्तिक ४ गते दिउँसो २ बजे आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो।

२०६१ फागुन १ गते राति बलबहादुर लिम्बुको घरबाट कुखुराको भाले चोरी भएको थियो। उक्त घटनाको विषयलाई लिएर भोलिपल्ट फागुन २ गते अशोक राईको विवाह भोजका क्रममा केही व्यक्तिले मिलेमतो गरी बलबहादुरको घर घेरा हालेका थिए।

सो क्रममा अमित केरुङसहितका व्यक्तिले खुकुरी, रोल र भाटासमेत प्रयोग गरी बलबहादुरका छोरा शुक्रप्रसाद लिम्बुमाथि आक्रमण गरेका थिए। टाउकोमा प्रहारबाट गम्भीर घाइते भएका लिम्बुलाई उपचारका लागि धरानस्थित घोपा लगिएको थियो। उपचारकै क्रममा २०६१ चैत २ गते उनको मृत्यु भएको थियो।

उक्त हत्यासम्बन्धी मुद्दामा इलाम जिल्ला अदालतले २०६६ कात्तिक १६ गते प्रेमकुमार श्रेष्ठसहितका प्रतिवादीलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो। सर्वोच्च अदालतले २०६८ चैत २४ गते जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो।

तर, कैद सजाय भुक्तान नगरी फरार रहेका श्रेष्ठलाई प्रहरीले लामो समयदेखि खोजी गरिरहेको थियो। अन्ततः २३ वर्षपछि पक्राउ परेका उनलाई अदालतमा पेस गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार अदालतको आदेशपछि उनलाई तोकिएको कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको छ।