काठमाडौं—अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी कम्पनीहरूमाथि कडा नियमन हुने आशंकाले अमेरिकी शेयर बजारमा ठूलो पहिरो गएको छ। पछिल्लो १९ महिनायताकै सबैभन्दा ठूलो गिरावट बेहोरेको नास्डाक–१०० मा सूचीकृत कम्पनीका लगानीकर्ताले एकै दिनमा करिब २.५ ट्रिलियन अमेरिकी डलर (करिब २३.५० लाख करोड रुपैयाँ) बराबरको सम्पत्ति गुमाएका छन्।

नियमनको त्रासले घट्यो बजार

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले बहुमत हासिल गरेसँगै एआई क्षेत्रमाथि कडा कानुनी नियन्त्रण हुन सक्ने त्रासले लगानीकर्ताहरू त्रसित बनेका हुन्। रोयटर्सका अनुसार, विशेषगरी एआई पूर्वाधार, डाटा सेन्टर र यसले खपत गर्ने उच्च विद्युत्‌को विषयमा सरकारले कडा नियम आउन सक्ने अनुमान गरिएको छ।

यसको प्रत्यक्ष असर प्रविधि क्षेत्रका दिग्गज कम्पनीहरूमा परेको छ। बिहीबारको कारोबारमा एनभिडियाको शेयर करिब ४ प्रतिशत र स्पेसएक्सको शेयर ९ प्रतिशतसम्मले घटेको थियो भने मेटा, अमेजन र गुगलजस्ता कम्पनीका शेयरमा समेत भारी गिरावट आएको छ।

कस्तो कानुन ल्याउने तयारी छ?

आगामी जनवरीमा अमेरिकी संसद्मा नियन्त्रण स्थापित गरेपछि डेमोक्रेट सांसदहरूले एआई प्रणाली र डाटा सेन्टर विस्तारलाई लक्षित गर्दै नयाँ कानुन ल्याउने तयारी गरेका छन्। नयाँ कानुनका मुख्य प्राथमिकताहरूमा डाटा सेन्टरका कारण बढ्न सक्ने विद्युत् महसुलबाट उपभोक्तालाई जोगाउने, उन्नत एआई प्रणालीको स्वतन्त्र परीक्षण अनिवार्य गर्ने र एआई उत्पादनबाट हुने कुनै पनि क्षतिमा सम्बन्धित कम्पनीलाई नै पूर्ण जिम्मेवार बनाउने रहेका छन्।

एसिया र युरोपमा प्रभाव, भारतमा भने आकर्षण

अमेरिकी बजारको यो पहिरोको प्रभाव विश्वव्यापी रूपमै परेको छ। एसियाली बजार अन्तर्गत दक्षिण कोरियाको कोस्पी र जापानको निक्केईमा ६ प्रतिशत तथा ताइवानको ताइएक्समा ४.५ प्रतिशतले गिरावट आएको छ। युरोपेली शेयर बजारहरू पनि ओरालो लागेका छन्।

यद्यपि, विश्व बजारमा बिक्रीको चाप बढिरहँदा भारतीय शेयर बजारमा भने विदेशी संस्थागत लगानीकर्ता (FII) को उल्लासपूर्ण आकर्षण देखिएको छ। बिहीबार मात्रै विदेशी लगानीकर्ताले भारतमा करिब १५ हजार करोड भारतीय रुपैयाँ बराबरको शेयर खरिद गरेका छन्, जुन पछिल्लो ६ वर्षयताकै सबैभन्दा ठूलो एकदिने खरिद हो।

भारतमा एआई पूर्वाधारसम्बन्धी कम्पनीहरूको सीमित प्रभाव हुनु र सूचना प्रविधि (आईटी) क्षेत्रका शेयरमा खरिद बढ्नुले बजारलाई राहत दिएको हो। त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा तल झर्नु र अमेरिका–इरान तनाव कम हुने सम्भावनाले पनि भारतीय लगानीकर्ताको मनोबल उच्च राख्न मद्दत गरेको छ। तेलको मूल्य घट्दा भारतको आयात खर्च, महँगी र मुद्रामाथिको दबाब कम हुने अपेक्षा गरिएको छ।