काठमाडौं—नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन गर्ने प्रक्रियाको वैधानिकतामाथि प्रश्न उठाएका छन्। उनले आर्थिक लेनदेनका आधारमा पार्टी कब्जा गर्न खोजिएको आरोपसमेत लगाए।
शनिबार देउवा पक्षको १५औँ काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले आफूलाई सभापतिबाट विधिवत् नहटाइएको अवस्थामा नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया वैधानिक हुन नसक्ने जिकिर गरे।
देउवाले नियमित महाधिवेशनबाट नेतृत्व चयन गर्न आफूले आग्रह गरेको बताए। गगन थापालाई पनि नियमित महाधिवेशनको मिति तोकेर प्रक्रिया अघि बढाउन सुझाव दिएको उनको भनाइ थियो।
विशेष महाधिवेशनको इतिहास स्मरण गर्दै उनले सुवर्णशमशेर र बीपी कोइरालासमेत विगतमा यसको पक्षमा रहेको उल्लेख गरे। विशेष महाधिवेशनबाट भएको नेतृत्व परिवर्तनविरुद्ध आफूहरूले अदालतमा मुद्दा दायर गरेको जानकारी पनि उनले दिए।
सम्बोधनका क्रममा देउवाले निर्वाचन आयोगका प्रमुखले आफ्नो ज्यानलाई खतरा रहेको विषय सार्वजनिक गरेको दाबी गरे। पार्टीसँग जोडिएको १८ करोड रुपैयाँको प्रसंग उठाउँदै उनले आर्थिक चलखेलबाट पार्टी किन्न खोजिएको भन्दै आपत्ति जनाए।
‘इनम सापकोटा र १८ करोड भनेको छ, १८ करोड सानो पैसा हो र त्यो? त्यो पैसा दिएर अब पार्टी किन्ने? पैसामा पार्टी बेचिदिने हामीले?’ उनले प्रश्न गरे।


