भूमिप्रसाद पाठक,
पथरी ,२३ चैत्र । कोरोना संक्रमण रोकथामका लागि जारी लक डाउनको आज १४ औँ दिन । हिजो सुदुरपश्चिमबाट थपिएका संक्रमित ३ जना सहित अब संक्रमितको संख्या ९ पुगेको छ । राज्य यससम्बन्धी थप बढी गम्भीर देखिएको छ । स्थलगत रिपोर्ट अभावमा जारी लक डाउन स्थगन गर्ने कि केही समयसम्मका लागि अघि लैजाने द्विविधा भएको स्रोत बताउँछ ।
रिपोर्ट अद्यावधिक अवस्था
विश्व स्वास्थ्य सङ्गठन र जोन्स हप्किन्स विश्वविद्यालयले आज आइतबार सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंंसारभरि कोरोना भाइरस संक्रमणबाट ६४ हजार ७ सय ३२ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १२ लाखभन्दा बढी देखिएको छ र ८ लाख ९१ हजार व्यक्ति हाल उपचारारत छन् ।
चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरू भएको कोभिड–१९ ‘विश्वव्यापी महामारी’ को रूपमा फैलिएको छ । फैलिने रफ्तारसँगै नागरिकलाई सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठनले सम्बन्धित देशका सरकारमार्फत विश्वभर अपील गरेको छ ।
पछिल्लो रिपोर्टका अनुसार कोरोना भाइरसका कारण इटाली अत्यन्तै प्रभावित भएको देखिन्छ । यहाँ १५ हजार ३ सय ६२ जनाको मृत्यु भइसकेको भने १ लाख २४ हजार भन्दा बढी संक्रमित छन् ।
स्पेनमा ११ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ भने १ लाख २६ हजार भन्दा बढी संक्रमित रहेका छन् । कोरोनाको अर्को केन्द्रका रूपमा विकास भएको अमेरिकामा ८ हजार ४ सय ५४ जनाको मृत्यु भएको छ भने ३ लाख ११ हजार भन्दा बढी संक्रमित भएका छन् ।
कोरोना उद्गमस्थल चीनमा ३ हजार ३ सय २९ जनाको मृत्यु भएको छ भने कूल संक्रमित ८१ हजार ६ सय ६९ जनामध्ये करिब ७७ हजार व्यक्ति निको भएर घर फर्किएका छन् । जर्मनीमा यसको संक्रमणका कारण १ हजार ४ सय ४४ जना, फ्रान्समा ७ हजार ५ सय ६० जना, बेलायतमा ४ हजार ३ सय १३ जना, निदरल्यान्डमा १ हजार ६ सय ५१ जना र बेल्जियममा १ हजार २ सय ८३ जनाको मृत्यु भइसकेको छ ।
इरानमा यसको संक्रमणका कारण ३ हजार ४ सय ५२ जनाको मृत्यु भएको छ भने दक्षिण कोरियामा १ सय ८३ व्यक्तिको मृत्यु भएको छ ।

आगजनीको समेत खतरा
एकातिर अवस्था यो छ भने अर्कोतिर देश लक डाउनमा कैद भएको बेला वनहरूमा आगलागीका घटना अत्यधिक भएका छन् । बितेको २४ घण्टामा झापा, इलाम, सुनसरी, बारा, चितवन, महोत्तरी, सप्तरी, सर्लाही, तनहुँ, उदयरपुर, धादिङलगायतका जिल्लाका वनहरूमा धेरै डढेलो लागेको समाचार छ । कोरोनाविरूद्धको लडाइमा सुरक्षाकर्मी मैदानमा उत्रिएको बेला शिकार गर्न जाने, गोठाला जाने, चुरोट खाएर ठुटा फाल्ने र घाँस दाउरामा जानेहरूकै कारण आगलागीको घटना बढेको अनुमान सर्वत्र गरिएको छ ।
यस्तो अवस्थामा राज्यलाई दुइटा लडाइविरूद्ध एकसाथ लड्नुपर्ने अवस्था विकास भएको छ । कोरोना भाइरसविरूद्धको लडाईं एकतिर छ भने अर्कोतिर वनमाथिको आगजानी नियन्त्रण गर्नु अनिवार्य भएको छ । सरकार र पुलिस प्रशासन एकसाथ सहकार्यबाट मात्र यो नियन्त्रण सम्भव हुने जानकारहरू बताउनछन् ।
नगरको राहत वितरण
यहिँ सिलसिलामा मोरङको पथरी शनिश्चरे नगरपालिकाले दुई हप्ता लामो लक डाउनका कारण साँझबिहान र छाकबासका लागि बढी समस्यामा परेका दैनिक ज्यालामजदुरी गर्ने श्रमिक, विपन्न तथा अति विपन्न वर्गका मानिसका लागि स्वास्थ्य सतर्कताका साथ सामाजिक दूरी कायम गरेर खाद्यान्न राहत वितरण सुरू गरेको छ ।
नगर प्रमुख दीलिपकुमार राई, उपप्रमुख यमुना बिष्ट, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत सहित विभिन्न सामाजिक संघसंस्था र राजनीतिक दलका प्रतिनिधि सम्मिलित ‘कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समिति’, राहत व्यवस्थापन तथा वितरण समिति र वडास्तरीय समितिमार्फत राहत वितरण थालिएको हो ।
आज वडा नम्वर ८ मा २ सय २२ र ९ मा १ सय ८६ घर परिवारलाई राहत वितरण गरिएको छ । राहत वितरण कार्यक्रममा वडा नं. २ का अध्यक्ष यामप्रसाद गुराँगाई, पथरी उद्योग वाणिज्य संघका सल्लाहकार माधवप्रसाद कोइराला र सामाजिक व्यक्ति दुर्गाप्रसाद भट्टराईको उपस्थिति रहेको थियो ।
२ जनासम्मको परिवारलाई प्रति परिवार १२ केजी चामल, २ भन्दा माथिको सदस्य रहेका परिवारलाई २५ केजी चामल तथा सवैका लागि प्रति परिवार २ केजी दाल, १ केजी नून, १ लिटर खानेतेल र २ वटा साबुन राहतस्वरूप वितरण भएको छ । भोली अन्य वडाहरूमा राहत वितरण गरिने राहत वितरण तथा व्यवस्थापन समिति संयोजक एवम् नगर उपप्रमुख यमुना बिष्टले जानकारी दिइन् ।
नगर सूचना संयोजक भूपेन्द्र तिम्सिनाका अनुसार नगरको राहत कोष तथा ‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ को खातामा जम्मा भएको नगद र वडा वडामा जम्मा भएको खाद्यान्न सहितको राहतलाई वडा–वडाका उपयुक्त स्थानहरूबाट वितरण गरिन थालिएको हो ।
राहत कोषको बैंक खातामा २ लाख ३५ हजार रूपैयाँ जम्मा भएको छ । यसैबीच सामाजिक व्यक्तित्व धनकुमार तामाङ नेतृत्वको पथरी शनिश्चरे १ स्थित ‘विशाल सहयोगी मन’ को तर्फबाट ५ सय केजी चामल नगरको राहत समितिलाई प्राप्त भएको छ । यसरी यसपटक नगरपालिकाले १० वटा वडामा बढीमा ४ हजार घर परिवारलाई राहत वितरण गर्ने भएको छ ।
समुदाय प्रहरी साझेदारी
समाजमा घट्ने यी दुबै घटनालाई प्रभावकारी नियन्त्रणमा लिन पुलिस प्रशासनको भूमिकाको प्रभावकारिता अनिवार्य छ । अहिले पनि मानिस रोग र रोगको संक्रमणबाट भन्दा पनि पुलिसको उपस्थितिबाट डर मान्छ । यसले मनोवैज्ञानिक डर, त्रास मात्र होइन, सुरक्षाको पूर्णतः प्रत्याभूति गराउछ ।
यसलाई मूर्त रूप दिन गृहमन्त्रालयको कार्ययोजनाभित्र रहेर कार्यान्वयनमा आएको समुदाय प्रहरी साझेदारीअन्तर्गत ‘प्रहरीको साथी म’ कार्यक्रम शुभारम्भ भएको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि कार्यान्वयनमा आएको लक डाउनलाई पूर्णतः सफल पार्नु यसको उद्देश्य हो ।
प्रहरी नायब उपरीक्षक दीलिपकुमार गिरीको प्रमुख उपस्थितिमा वडा नं. १० को जय नेपाल चौकमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष सागर राई र संयन्त्रका सदस्य दिनानाथ तिम्सिनाको उपस्थिति रहेको थियो । ‘प्रहरीको साथी म’ शिर्षकको कार्यक्रममार्फत स्थानीय अनु राई, सिर्जना धिमाल, उमेश कोइराला, रितेश बस्नेत, सुमन कुरूङवाङ, भुवन थापा, रोहित विश्वकर्मा, रोहित गुरूङ, संगीता दुलाल र श्रीहाङ राईलाई प्रहरी नायब उपरीक्षक गिरीले सेतो रंगको टी–सर्ट बाँडेर प्रहरीसँग सहकार्य गर्न अनुरोध गर्नुभएको थियो ।
आज वडा अध्यक्ष गोबिन्दबहादुर भण्डारीको उपस्थितिमा वडा नं. ४ र वडा अध्यक्ष कपिलमणि ढकालको उपस्थितिमा वडा नं. ७ मा सम्पन्न यो कार्यक्रम अब क्रमशः वडा–वडामा लगिने र आमनागरिक सुरक्षाको सन्दर्भमा पुलिसको भूमिकालाई ‘नङ र मासु’ को रूपमा प्रगाढ बनाउँदै लैजाने र यसमा समुदायको प्रत्येक मासिनलाई अनिवार्य जोड्ने अभिप्राय रहेको बताउनुहुँदै प्रहरी नायक उपरीक्षक गिरीले पथरी बजारको लोकतान्त्रिक चौक सम्पन्न कार्यक्रममा विजय डाँगी, सञ्जीव गिरी, मणिकुमार लिम्बु, ईश्वरी सापकोटा, प्रदीपकुमार राई, बिक्रम लिम्बु, रोशन पराजुली, सुबिन पराजुली, खेम ढुङ्गेल, गोपाल काफ्ले, सञ्चारकर्मी अर्जुन जम्नेली राई र भीष्मराज न्यौपानेलाई प्रहरी नायक उपरीक्षक गिरीले ‘प्रहरीको साथी म’ उपलब्ध गराउनुहुँदै शहरबजारको शान्ति सुरक्षाको प्रश्नमा प्रहरी र नागरिक समुदाय इञ्चभर पनि चुक्न नहुने बताउनुभएको थियो । कार्यक्रममा उपप्रमुख यमुना बिष्ट र प्रहरी निरीक्षक अनील पौडेलको उपस्थिति उल्लेख्य रहेको थियो ।
वडा नं. ७ मा ‘प्रहरीको साथी म’ कार्यक्रमअन्र्तगत वडा सदस्य काशीहाङ राई र मैनादेवी राईको उपस्तिथिमा लीला उप्रेती, भविन रिमाल, महेश कार्की, मानस धिमाल, रोशन गुरूङ, छत्र लिम्बु, प्रदीप ठाकुर, सबु दाहाल र तीर्थबहादुर तामाङ रहेका छन् भने वडा नं. ४ मा राजकुमार विश्वकर्मा, नारायण दाहाल, रविन मगर, जयराम राई, मनबहादुर राई, केशव बर्मा, मनिस गुरूङ, हरिबहादुर राई, भोजकुमार दर्जी र प्रकाश जोगी रहेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।
प्रहरी प्रशासनको तर्फबाट रहँदै आएको यो क्रियाशीलताले नगर सुरक्षाका दृष्टिकोणले शान्त, समृद्ध र समुन्नत हुने विश्वास व्यक्त गर्नुहुँदै उपप्रमुख बिष्टले यस प्रक्रियामा अगुवाई गर्नुहुने प्रहरी नायब उपरीक्षक दीलिपकुमार गिरीसहित सहभागी सबैलाई हार्दिक धन्यवाद दिनुहुँदै मानवजातिको अस्तित्वविरूद्ध आइलागेको यो महामारीमा आ–आफ्नो क्षेत्रमा डटेर काममा लाग्न अनुरोध गर्नुभयो ।
चर्चा परिचर्चाको बजार
‘कोरोना भाइरस जोखिम न्यूनिकरण नगर स्तरीय समन्वय समिति’ गठनअगावै कार्यापालिका सदस्यहरूलाई जानकारीसम्म नदिइ नगर प्रमुखकै तोक आदेशमा स्वास्थ्य कर्मचारी मुरारी आचार्यको नाममा निकालिएको रूपैयाँ १० लाख सार्वजनिक नभएर आमनागरिकका लागि अत्यन्तै धेरै चासो र अध्ययनको विषय भइरहेको बेला विपदको व्यवस्थापन आर्थिक सहयोगको आव्हानमा कसरी रकम जम्मा हुन सक्छ ? भन्ने प्रश्न सबैका मनमा गुजुल्टो परेको छ ।
मनसाय साफ होला ! तर व्यक्तिका नाममा अहिलेसम्म सरकारको रकम रहने कुराले शंका जन्माएको छ । यहिँ कारणले पनि राहत कोषमा रकम साह्रै न्युन मात्र जम्मा भएको प्रस्ट बुझिन्छ । यद्यपि, पछिल्लो बेलामा सहयोगका लागि नगरले राहत वितरणमा एकद्वार प्रणाली लागू गर्दा गर्दै नगर सरकारको तर्फबाट राहत कोषमा रूपैयाँ ३० लाख विनियोजन गरेको बुझिन्छ ।
विपदको लागि आर्थिक आव्हान गर्ने अनि समितिको प्रमुख पनि नगर प्रमुख रहने र ‘कोरोना भाइरस जोखिम न्युनिकरण नगर स्तरीय समन्वय समिति’ को प्रमुख पनि स्वयं रहने विषय स्थानीयलाई पाच्य भएको छैन ।
नगर समन्वय समितिको बैठक
यसैबीच कोरोना भाइरस जोखिम न्युनिकरण नगर समन्वय समितिको आज सम्पन्न बैठकले अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउदै प्रत्येक साताको शनिबार र मंगलबार मात्र दिउँसो १ बजेदेखि ३ बजेसम्म अत्यावश्यकीय खाद्यान्न, सागसब्जी, फलफुल र दुधजन्य पसल खुला गर्न गराउन निर्देशन गरेको छ भने सवारीसाधन रहित बजार आवागमनका लागि नागरिकसमक्ष अनुरोध गरिएको उपप्रमुख बिष्टले बताउनुभएको छ ।
बैठकले एकदमै डर र त्रासको कहालीलाग्दो अवस्था होइन, संक्रमणसम्बन्धी आफूहरूले धेरै सावधानी अपनाउन सकिएकोले तुलनात्मक रूपमा यो नगर कम जोखिमयुक्त रहेको भए पनि ढुक्क हुन सक्ने अवस्था छैन, यसमा पनि हिजो साँझबाट देशमा ह्वात्तै संक्रमणको लहर बढेसँगै उच्च सजगता अपनाइरहनुपर्ने आवश्यकता औँल्याएको छ ।
संक्रमण रोकथाम र सावधानी अपनाउनुपर्ने नगरको आह्वानमा साथ सहयोग गर्नुहुने नगरबासीलाई धन्यवाद ज्ञापन गरेको उपप्रमुख बिष्टको भनाइ रहेको छ । पसले र ग्राहकबीच कम्तिमा पनि डेढ मिटरको दुरी कायम गरी अनिवार्यरूपमा मास्क, ग्लोब लगाएर पसलमा व्यवस्था गरिएको साबुनपानीले हात धोएर र सेनिटराइज प्रयोग गरेर मात्र सामान किनबेच गर्न हुन हार्दिक अनुरोध गरिएसँगै निर्धारित समयमा पनि बालबालिका र ज्येष्ठ बाहेकका १ जनामात्र सदस्यले सामान लिन आउनु पर्ने व्यहोरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अनाश्वयक रूपमा हिडडुल गर्ने र तोकिएको लड कडाउनको अन्य समयमा पैदल मात्र हिँडडुल गर्ने र पसल खोल्नेलाई कडा कारबाही हुने व्यवहोरा समेत विज्ञप्तिमा उल्लेख छ ।




















