पथरी शनिश्चरे, १० फागुन । पूर्वपश्चिम हुलाकी सडक अन्तर्गत डाइनिया जोडिने उत्तरदक्षिणको मनमोहन गान्धी मार्ग (सडक) को पथरी शनिश्चरे खण्डमा निर्माण हुँदै गरेको सडकको अवस्थाका बारेमा स्थानीयसँग छलफल भएको छ ।
मुख्य रुपमा १० नम्बर वडाको नयाँमंगलबारे खण्डमा सडक निर्माणका विषयमा स्थानीयवासीसँग नगरपालिका प्रमुख दिलीपकुमार राई, कार्यवाहक वडाध्यक्ष मैनादेवी फूयल आचार्य, ९ नम्बर वडाध्यक्ष भानुभक्त राई सहितका जनप्रतिनिधि, सडकका प्राविधिकहरुले छलफल गरेका छन् । हालको भन्दा सडक फराकिलो बनाएर लाने हुलाकी सडक कार्यालयको योजनामाथि छलफल भएको हो ।

संघीय सरकारको योजना अनुरुप हुलाकी सडक कार्यालय इटहरीमार्फत कान्छाराम कन्ट्रक्सन्ले ठेक्का लिएर सडक चौडा बनाई ड्रेन निर्माण कार्य भइरहेको छ । दक्षिणतर्फबाट बन्दै आएको सडक नयाँमंगलबारे क्षेत्रमा आइपुग्दा स्थानीयले सडक फराकिलो बनाउने विषयमा प्रश्न राखेपछि छलफल भएको हो । सडक ३० किलोमिटर लम्बाईको रहेको छ ।