हुँदा हुँदा आफ्नो विरुद्ध अविश्वासको प्रस्ताव आउने र आफुलाइ हटाइने भए पछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सभाको वैठक हठात अन्त्य गर्दिएछन । हुन त यो काम आफ्नो पद जाने भएपछि असंवैधानिक , अलोकतान्त्रिक ढंगले संसद विगठन गर्ने सम्माननीय प्रधानमन्त्री केपी ओलीको अनुकरण गरिएकोमा दुइमत छैन , अझै यस कार्य सम्माननीयज्यु र वहाँको सत्ताको वरिपरी बसेर लाभ लिएकाहरुको कोटरीले सल्लाहमै गरेको हुनुपर्छ ।
यस्तै काम त लामो समय आफ्नो सरलताको आडमा हामि सबैलाइ भ्रमित पारेर असल देखिएका र अहिले क्रमश आफ्नो असली रुपमा प्रस्तुत हुँदै नेकपा हुँदै एमाले समेत विभाजन गर्ने खेलमा लागेका लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले पनि गर्न खोजेकै थिए । यो सत्ता र शक्तीलाइ नै सवै ठान्ने , पद प्राप्ति गर्न जे पनि गर्न तम्सिनेहरुले गर्ने नियमित काम नै हो , भलै व्यक्तीहरुको असलियत बुझ्न ढिला हुँदा हामि सवै भ्रमित भयौं । त्यसैले चिन्ता सत्ता र शक्तिको लागि जे पनि गर्नेले के गर्छन भन्नेमा हैन , चिन्ता त उनीहरुको यो कदमले उनीहरु जोडिएको पार्टीको पहिचान के कस्तो बन्ने हो भन्ने मात्रै हो । दुःखका साथ लेख्नु परेको छ कि एमालेको दुर्भाग्य र वहाँहरुको सौभाग्यले वहाँहरु एमाले हुनुहुन्छ , अनि वहाँहरुको दिखावालाइ सत्य मानेर भ्रमित पंक्तिले निस्वार्थ रुपमा गरेको मतदानको परिणाम वहाँहरु एमालेको महत्वपूर्ण ठाउँमा हुनुहुन्छ अनि एमालेको लोकप्रियताको आडमा प्राप्त मतले सत्ताको महत्वपूर्ण ठाउँहरुमा हुनुहुन्छ ।
अनि जाहाँ हुनुहुन्छ त्यहाँ रहिराख्न हुने नहुने सबै गर्दै हुनुहुन्छ , अरु त अरु देशको संविधानलाइ समेत उल्लङ्घन गर्ने गरेको त प्रमाणित भैसकेको छ र त्यसको निरन्तरता स्वरूप अलोकतान्त्रिक विधिहरुको अनुशरण तलसम्म भैरहेको छ । हो एमालेको हरेक सदस्यहरु देखि समर्थक शुभेच्छुकहरुको चाहना हुन्छ कि एमालेको सरकार टिक्न सकोस , त्यही मान्यतामा टिकेर एक नम्बर प्रदेशमा गुट हैन पार्टी प्रमुख मानेर मुख्यमन्त्री विरुद्धको अविश्वास फिर्ता लिने काम भएको छ भने केन्द्रमा पनि गुटगत मानसिकता त्यागेर केपी ओलीले नेतृत्व गर्नु भएको सरकारको पक्षमा उभिएर पार्टीको एकता बचाउने निर्णय त केपी गुटमा नरहेका एमालेहरुले दिएकै छन नि । प्रत्यक एमालेले भित्रि प्रतिस्पर्धालाइ थाति राखेर वाह्य लडाईमा एमालेको बचाउ गर्नु स्वाभाविक नै हो र त्यो गरिंदै आएको छ र हुँदै जानेछ तर त्यसको पनि सिमा जरुर छन र रहनु पर्छ ।
तसर्थ , लोकतन्त्रको मुल्य र मान्यताको खिलाफ गएर असंवैधानिक , अलोकतान्त्रिक कदमहरु चाल्ने कामहरुको समर्थन हुनु हुदैन , विधि र पद्दतिको खिलाफमा गएर कोहि कसैको पद जोगिएला तर एमालेको प्रतिष्ठा जोगिने छैन भन्ने सवै एमालेले बुझ्नु पर्छ । एमाले भन्ने पार्टी लोकप्रिय भएको सत्ता र शक्तिमा पुगेकोले हुँदै हैन बरु त्यो लोकप्रिय भएको त सत्ता र शक्ति भन्दा विधि पद्दतिको पालना ठुलो भन्ने सिद्धान्त बोकेको हुनाले हो अनि हार्दा पनि जित्दा पनि जनताको साथ नछोड्ने प्रतिवद्धताले हो । जननेता मदन भण्डारी जसले एमालेलाइ वहुदलीय जनवादको बाटोमा लानु भयो , वहाँले अक्सर भन्नु हुन्थ्यो “ हामिलाइ जनताले जिताएर सरकार चलाउन पठाए ठिकै छ , हैन प्रतिपक्षमा बस्नु पर्छ भनेर त्यही हिसाबले जिताए पनि ठिक छ , हैन तिमिहरुको बेला भएको छैन भनेर सर्वत्र हराए पनि ठिक छ , हामि जनताको साथ हुनेछौं र जनतासंगै रहेर जनताको सेवा गर्नेछौं ।” हो एमालेको लोकप्रियताको मूल कडी यही हो अनि संवैधानिक सर्वोच्चतालाइ मूल मर्म मानेको जनताको वहुदलीय जनवाद मान्ने एमालेको मूल धर्म भनेको विधिको पालना हो ।
तर अहिले केन्द्र देखि कतिपय प्रदेशका सरकारको नेतृत्वमा रहनेहरुको भूमिका हेर्दा लाग्छ त्यहाँ एमालेको टिकटबाट निर्वाचितहरु त छन तर एमाले चाहिं त्यहाँ छैन । किन ? किन भने एमाले पार्टी भनेको सुसंस्कारको , विधि र पद्दतिको पालनाको , थितिको रक्षाको अर्को नाम हो , यही नै आम एमालेको पहिचान हो तर आफ्नो पद जोगाउनकै लागि असंवैधानिक रुपमा संसदको विगठन , अप्रत्याशित रुपमा प्रदेश सभाको स्थगन गर्ने जस्ता कुरा एमालेको चरित्र हैन र हुनुहुदैन । हो यत्र तत्र सर्वत्र एमाले नेतृत्वको सरकार जोगाउन , त्यसलाइ जनपक्षिय बनाउन एमाले लाग्नै पर्छ तर त्यो काम विधि भित्र रहेर , लोकतान्त्रिक मुल्य र मान्यतामा रहेर गर्नु पर्छ ।
यसै सन्दर्भमा बरु एक नम्बर प्रदेशको मुख्यमन्त्री शेरधन राईबाट पनि धेरै कुरा सिक्न सकिन्छ , जसले आन्तरिक समस्यालाइ भित्रै मिलाउने सहमति कायम गर्दै वाह्य प्रतिस्पर्धा मिलेर गर्ने सहमति पार्टी भित्र मिलाउनु भयो र विधिमै टेकेर आफु विरुद्धको अविश्वासको प्रस्तावलाइ अर्थहीन बनाउनु भयो । हुनुपर्ने यही नै हो , आफु र आफ्नो पार्टीलाइ बलियो बनाउन लागिरहन तर त्यसो गर्नकै लागि विधि नभत्काउनेनै एमालेको असली परिचय हो । एमालेका प्रत्यक सदस्यको काँधमा अहिले एमालेको त्यो पहिचान कायम राख्ने दाइत्व छ , एमाले जनताको मन जितेर सत्तामा पुगेको हो र उसले आफ्नो सत्ता जोगाउन खोज्छ नै तर त्यसो गर्नको लागि अनैतिक , अलोकतान्त्रिक र असंवैधानिक काम गर्दैन भन्ने संदेश दिनुपर्छ । एमालेको धरातल जोगाउने हो एमाले भएर सत्तामा पुगेकाको कुर्सि जोगाउने भन्ने दुइ महत्वपूर्ण सवालको उत्तर दिंदै गर्दा एमालेको धरातल बचाउने नै निष्कर्ष सुनाउनु पर्छ ।




















