भूमिप्रसाद पाठक,

पथरी,१५ जेठ । कोरोना भाइरस संक्रमणको असर चौतर्फी छ । यसमा पनि दैनिक ज्यालादारीमा काम गर्ने जनमनका लागि यतिबेला दोहोरो जोखिम बढेको छ । एकातिर कोरोना संक्रमणको डरत्रास उत्तिकै छ भने अर्कोतिर श्रमबजार बन्द हुँदा दैनिक श्रमवापत आर्जन गरेर पेट पाल्नुपर्ने वर्गको मानिसलाई रोगले भन्दा पनि भोकले सताउने खतरा बढेको छ । अझै कतिञ्जेलसम्म थाहा छैन !


परिस्थितिको यो असजिलो अवस्थालाई मध्यनजर गर्दै मोरङको पथरी शनिश्चरे वडा नं. १ निवासी नेपाली काङ्ग्रेस निकट राजनीतिक व्यक्तित्व, अत्यन्तै भद्र युवा समाजसेवी, प्राज्ञिक एवं विद्वान् भरत थापाले आफ्ना आमा–बुबा र हजुरआमाको सम्मानमा विपन्न घरपरिवारलाई राहतस्वरुप खाद्यसामग्रीहरू उपलब्ध गराउनुभएको छ ।
श्रद्धेय हजुरआमा रमादेवी थापा – ८२ वर्ष र आमा–बुबा राधादेवी – ६४ वर्ष र चक्रबहादुर थापा –६४ वर्षको सम्मानमा वडाको सुन्दरबस्ती अवस्थित ७८ घरपरिवारलाई दैनिक आवश्यक पर्ने सामाग्रीलगायत चामल, दाल, तेल, नुन आदि वितरण गरिएको बगाले थापा सुन चाँदी पसल तथा मनिट्रान्सफर, शिखरचौक प्रोपराइटर बिमल थापाले बताउनुभएको छ ।
कहिलेकाहिँ विभिन्न राजनीतिक दलले पनि बेलाबेलामा राहत सामाग्री वितरण गर्ने गर्छन् । यसरी वितरित सामाग्री लिएपछि समयक्रममा आफूहरूले पनि त्यहीं पार्टीकित्तामा उभिदिनु परेको तीतो यथार्थ पोख्दै यसरी हुनेखाने घरघरानाले गर्ने गरेको मानवीय सेवाबाट प्रभावित लक्षित समुदायले साँच्चो अर्थमा सहयोग पाएको अनुभूति गरेको बगाले थापा परिवारका उत्तराधिकारी सदाचार व्यक्तित्व रुपक थापाले जानकारी गराउनुभयो ।