धनगढी,१६ जेठ । शनिबार दिउँसो बजेट भाषण सुनिरहेका कैलालीको घोडाघोडीका वृद्ध श्यामलाल एक्कासी हौसिँदै खुशीले नाच्न थाने ।
यो देखेर घरमा बसिरहेका छोराबुहारी र नाति दंग भए । खुशीले नाँचिरहेका श्यामलालले दुई वर्षीय नातिलाई काँधमा बोक्दै एकछिन आँगनमा खेलाएर भने, ‘आजदेखि मेरो पेन्सन एक हजारले बढ्यो ।’
यो सुनेर छोराबुहारी पनि खुशी भए । आफ्नो सक्रिय जीवन सामान्य खेतीपातीमै बिताएका आफ्ना बुबाको पेन्सन कहाँ बढेछ भन्ने उनीहरुमा लाग्यो । श्यामलालले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत बृद्धभत्तासहित सामाजिक सुरक्षा भत्ता बढाएको सुनाएपछि छोराबुहारीले बल्ल थाहा पाए, बुबाको पेन्सन त सरकारले दिने बृद्धभत्ता पो रहेछ ।
श्यामलालमात्रै हैन, आर्थिक वर्ष २०७८–७९ को लागि आयव्ययको विवरण प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले वृद्धभत्ता भत्ता बढाएपछि यहाँका सबैजसो बुढापाकाहरू खुशी भएका छन् ।दृष्टी बाट



















