सिन्धुपाल्चोक, २ असार । अविरल वर्षापछि बाढीले मेलम्ची बजार, हेलम्बुको तिम्बु बजार र चनौटे भन्ने बजार पनि डुबानमा पारेको छ ।
मंगलबार साँझ आएकोअविरल वर्षाका कारण मेलम्ची नदीमा आएको बाढीका कारण धेरै मानिस सम्पर्कविहीन बनेका छन् भने हेलम्बु बजार डुबाउँदा ७ जनाको मृत्यु भएको छ । बेपत्ता हुनेको संख्या बढ्न सक्ने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताएका छन् ।बाढीका कारण मेलम्चीको होटल रोजको छतमा दुई जना युवा फसेका छन् ।
पानीको सतह जमिनबाट धेरै माथि आएपछि सुरक्षित स्थानमा जान नसकेका उनीहरुले उद्धारका लागि गुहार मागिरहेका छन् । उक्त होटलको छत मात्र देखिन्छ । होटलको वरिपरी खोलाले घेरेको हुनाले तत्काल हेलिकप्टरबाट उद्धार गर्नुपर्ने देखिएको स्थानीयले बताएका छन् । बाढीले ३ वटा झोलुङ्गे पुल पनि बाढीले बगाएको छ । मेलम्ची खानेपानीको तिम्बुमा रहेको बाँध बगाएको छ ।
तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजारमा ठूलो क्षति भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।बाढीले नाकोते, तिम्बु, फट्टे, मेलम्ची नवलपुर जोड्ने पुल बगाएको छ । प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थल जाँदैछ । रातिको समयमा बाढी आएका क्षति बढी भएको हो । पोखरेलका अनुसार अहिले पनि जोखिम कायम छ । नदिले ठूलठूला ढुङ्गा बगाइरहेको छ ।



















