काठमाडौं,६ असार । काठमाडौँ उपत्यकामा केही खुकुलो बनाउँदै एक हप्ता निषेधाज्ञा थपिएको छ। काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको संयुक्त बैठकले कोभिड संक्रमण उल्लेखनीय रुपमा नघटेको निष्कर्ष निकाल्दै एक हप्ता थप गर्ने निर्णय भएको हो। थप भएको निषेधाज्ञा असार १४ गतेसम्म लागू हुनेछ।
यो अवधिमा नीजि सवारी साधन भने जोर बिजोरका आधारमा सञ्चालन हुनेछन्। आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा पसल, मोबाइल पसल (बिहान ११ बजेदेखि दिउसाे ४ बजेसम्म) खुल्ला रहनेछन्।
सोमबार, बुधबार र शुक्रबार डिपार्टमेन्ट स्टोर, फेन्सी पसलहरु खाेल्न पाइने छ। यी पनि बिहान ११ बजेदेखि दिउसाे ४ बजेसम्म मात्र खुल्नेछन्। खाद्यन्न पसल भने हरेक दिन बिहान ११ बजेसम्म खोल्न पाइने छ। निर्माण सामग्रीका पसलहरु पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ । नीजि सवारी कार, जीप भ्यानमा चार जनामात्रै यात्रु राख्न पाइनेछ। त्यस्तै ट्याक्सीमा भने तीन जनामात्रै यात्रु राख्न पाइनेछ।



















