पथरी, २१ असार । मोरङको पथरी शनिश्चरे १ स्थित यलम्बर चोकमा किरात समुदायका प्रथम ऐतिहासिक राजा यलम्बरको सालिक निर्माणस्थलको आज अनुगमन् भएको छ ।
नगर उपप्रमुख एवम योजना अनुगमन समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईको प्राविधिक सहितको टोलीले सोस्थलको अनुगमन् गरेको हो । तात्कालित संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का सांसद भानुभक्त ढकालको पहलमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट मूर्ति सहितका लागि ३० लाख रुपैयाँ विनियोजन भएको थियो । तर छोटो समयमा मूर्ति निर्माण कार्यको प्रक्रिया पुरा हुन नसकेकाले तत्कालका लागि १५ लाख ७२ हजार ९ सय २८ रुपैयाँ ४३ पैसा बराबरको बजेटमा सालिक निर्माणस्थलको चाँही निर्माण कार्य सम्पन्न गरिएको हो ।
सालिकस्थलको जग राख्ने र पानीको फोहराको काम यो वर्ष सम्पन्न भएको र अर्काे आर्थिक वर्षमा शालिकको काम अघि बढाउने योजना रहेको सालिक निर्माण समितिका सचिव खगेन पुलामीले जनाउनु भयो ।


