काठमाडौँ,२४ साउन । पूर्वकानुनी राज्यमन्त्री राधेश्याम विजुक्क्षे कमारोको निधन भएको छ । ७८ वर्षीय कमारोको हृदय घातका कारण शनिबार निधन भएको हो । मुट सम्बन्धी समस्या भएका उनकाे गंगालाल अस्पतालमा उपचारकाे क्रममा निधन भएकाे बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका अध्यक्ष विराट कुमार श्रेष्ठले नयाँ विश्वलाई बताए । ।

प्रगतिशिल विचारबाट प्रभावित उनी बागलुङ नगरपालिका–३ नौविसे टोलमा विसं २००० सालमा जन्मिएका थिए । विसं २०१२ सालदेखि वामपन्थी आन्दोलनमा लागेका उनी विद्यामन्दिर माध्यमिक विद्यालयका चर्चित विद्यार्थी नेता मध्येका एक हुन् । उनले कम्युनिष्ट विचारधाराबाट प्रभावित भएर आपनो नामको पछाडि कमारो उपनाम राखेका थिए । विद्यार्थीकालमा कमारोका देवेन्द्रराज अधिकारी र डा.भुपेन्द्र खड्का सहपाठी हुन् ।उनीहरु तीनै जना बागलुङका चर्चित वामपन्थी नेताहरु थिए ।

तत्कालिन वामपन्थी नेताहरु निर्मल लामा, बासुदेव ढुंगानाबाट प्रभावित भएका कमारो ३१ सालमा चौथों महाधिवेशनमा भाग लिन भारतको वनारस गएका थिए । २८ सालमा पंचायत लागू गरेको नयाँ शिक्षा नीतिको विरुद्ध बागलुङमा भएको विद्यार्थी आन्दोलनको कमारोले नेतृत्व गरेका थिए ।कमारोको राजनैतिक नेतृत्वबाट प्रभावित भएर बागलुङका धेरै युवाहरु वामपन्थी राजनीतिमा सक्रिय भएका थिए ।

उनले धौलागिरि बहु्मुखी क्याम्पस र पृथ्वीनारायण बहु्मुखी क्याम्पसमा अध्यापनसमेत गराएका थिए । तत्कालिन सत्यनारायण झा अञ्चलाधिशले कमारो र राघेवलाल वैधलाई भैरहवा जेलमा कैद गरेका थिए ।

कमारोले त्यहि जेलबाट कानूनमा स्नातक गरेका थिए । विसं २०३४ सालमा पंचायतमा प्रवेश गरेका कमारोलाई राजा वीरेन्द्रले जिल्ला पंचायतमा मनोनित गरेका थिए । कमारो विसं २०३७ सालमा कास्कीबाट राष्ट्रिय पञ्चायतमा निर्वाचित भएर कानून राज्यमन्त्री भएका थिए । कमारोलाई अर्थशान्त्र र अंग्रेजी भाषाको गहिरो ज्ञान थियो । २०४८ सालमा स्थापना भएको सुस्थमनस्थिति कल्याण संस्थाको उनी संस्थापन सदस्य थिए ।

कमारोले सुस्थमनस्थिति भएका विद्यार्थीहरुको हितमा लामो समय काम गरेका थिए ।उनी धौलागिरि बचत तथा ऋण सहकारीको पूर्वअध्यक्ष र ग्रीन डेभलपमेन्ट बैंकको संचालक समितिको सदस्य थिए । बागलुङ जिल्ला र राष्ट्रले एक जना राम्रो प्रतिभालाई गुमाएको ग्रीन डेभलपमेन्ट बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठले बताए ।