काठमाडाैं,६ असार । रामेछापमा सम्पन्न खुल्ला डुङ्गा दौड प्रतियोगिताको उपाधि नेपाली माझी उत्थान संघ सुनसरीले जितेको छ ।

माझी समुदायको पहिचान संरक्षण तथा पुराना खेलको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता अन्तर्गत सिङ्गल र डबल दुवै विधामा सुनसरी प्रथम भएको छ ।  रामेछापको मन्थली नगरपालिका वडा नं ६ सेल घाटमा स्थित सुनकोसी नदीमा आयोजना गरिएको ५० मिटर दुरी १ मिनेट ५३ सेकेण्डमा पार गर्दै डबल विधा र १ मिनेट २२ सेकेण्डमा पार गर्दै सिङ्गल विधामा सुनसरी प्रथम भएको हो ।

नेपाल माझी उत्थान संघ रामेछापका सचिव हरि माझीका अनुसार   प्रतियोगिताको डबल विधामा १ मिनेट ५९ सेकेण्डमा दुरी पार गर्दै नेपाल माझी उत्थान संघ रामेछाप दोस्रो भएको छ । त्यस्तै २ मिनेट १२ सेकेण्डमा सो दुरी पार गर्दै नेपाल माझी उत्थान संघ सेले घाट रामेछाप तेस्रो भएको छ ।

सिङ्गल तर्फ १ मिनेट ३२ सेकेण्डमा सो दुरी पार गर्दै नेपाल माझी उत्थान संघ कोथपे रामेछाप दोस्रो भएको छ । १ मिनेट ३३ सेकेण्डमा उक्त दुरी पार गर्दै नेपाल माझी उत्थान संघ सिन्धुली तेस्रो भएको छ ।

प्रतियोगिताको सिङ्गल विधातर्फ प्रथम हुनेले नगद २० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैँया सहित मेडल र प्रमाण–पत्र पाएका छन् । त्यस्तै डबल विधातर्फ पहिलो हुनेले नगद ३० हजार, दोस्रो हुनेले २० हजार र तोस्रो हुनेले १० हजार रुपैँया सहित मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।

तीन जिल्लाका खेलाडी सहभागी रहेको प्रतियोगिताको डवल तर्फ २३ टिमले भाग लिएका थिए । त्यस्तै सिङ्गल तर्फ २२ टोलीको सहभागिता रहेको थियो ।

माझी उत्थान संघ रामेछापको समन्वय, मन्थली नगरपालिकाको सहयोग र जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा राष्ट्रिय खेलकुद परिषद्ले कार्यक्रम आयोजना गरेको हो । प्रतियोगिताको सिङ्गल तर्फ दुई जना र डबलमा चार जनाले डुङ्गा दौडाएका थिए ।