विराटचोक,१५ असार । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । मंगलबार भएको सो कार्यक्रममा वडा कार्यालयले चालु आर्थिक वर्षमा गरेका विकास निर्माण तथा सामाजिक विकाससम्बन्धी कामका साथै वडाले सेवा दिने अन्य विषयमा सार्वजनिक सुनुवाइ भएको हो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष रोशनप्रसाद ढकालले पुरानो पैनी संरक्षणमा काम हुन थाले पनि बस्ती बसिसकेको र बाटो पिच भइसकेको ठाउँमा समस्या हुँदा वडावासीले डुबानको समस्या खेप्नुपरेको बताए । त्यस्तै, प्रक्रियागत ढिलाइले कहिलेकाहीँ औषधी खरीदमा ढिलाइ हुँदा केही औषधी नपाइने गरे पनि ज्येष्ठ नागरिकले पाउने सबै प्रकारका औषधी निःशुल्क दिने व्यवस्था गर्न लागिएको जनाए ।

12-sarbajanik-sunuwai-3-768x512

१० लाखसम्मको लागतका योजना अब वडामै सम्झौता हुने र वडाले नै अनुगमन गर्ने हुनाले योजनासम्बन्धी धेरै समस्याको समाधान हुने विश्वास लिएको उनको भनाइ थियो । बिजुलीको कम भोल्टेजको समस्या सबैले उठाउने गरेको तर आफ्नो घर अगाडि ट्रान्सफर्मर राख्न कसैले नदिने परिपाटी रहेकाले समस्या जस्ताको तस्तै देखिएको हुँदा ट्रान्सफर्मर राख्ने विषयमा अवरोध गर्न नहुने उनको भनाइ थियो ।

कार्यक्रममा वडा सदस्यहरु नीलम थापा,कमला मास्के, दिलीपप्रसाद दाहाल, वडा सचिव कृष्णबहादुर दाहाल, ज्येष्ठ नागरिक समाज सुन्दरहरैंचा १२ का अध्यक्ष शिवप्रसाद दाहाल, सुकुना माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक लक्ष्मीकुमार श्रेष्ठ,विभिन्न दलका प्रतिनिधि,युवा संघका नगर सचिव आनन्द बस्नेत उपभोक्ता समितिका पदाधिकारी, सञ्चारकर्मी र वडावासी सेवाग्राहीको सहभागिता रहेको थियो ।