काठमाडौँ/भारतीय गुप्तचर निकायले अन्डरवर्ल्ड दन दाउद इब्राहिमका नेपाल एजेन्ट भएको आरोप लगाएका युनुस अन्सारी चौथो पटक पक्राउ परेका छन् ।यसअघि पटक नक्कली भारतीय रुपैयाँ र खैरो हेरोइनसहित पक्राउ परेका अन्सारी शुक्रबार फेरि ७ करोड ६७ लाख ९४ हजार रुपैयाँ भारतीय जाली नोटसहित पक्राउ परेका छन् ।

कतार एयरवेजबाट नेपाल आएका पाकिस्तानी नागरिकहरु नादिया अनवर, अख्तर महम्मद र नसिर उद्धिनलाई प्रहरीको विशेष ब्यूरो, विमानस्थल प्रहरी र अपराध महाशाखाको संयुक्त टोलीले पक्राउ गरेको थियो ।

प्रहरीले पैसा र पाकिस्तानी नागरिकलाई रिसिभ गर्न पुगेका अन्सारी, सोयल खान र सवारी चालक सुदन रानाभाटलाई पनि पक्राउ गरेको हो ।

जाली नोट कारोबारमा पटक पटक अन्सारी पक्राउ पर्न थालेपछि नेपालमा अन्डरवर्ल्ड डन दाउद इब्राहिमको सञ्जालको बारेमा खोजी शुरु भएको छ । अन्सारीले यसअघि पनि दाउदका लागि काम गर्ने गरेको आशंका गरिको थियो ।

शुक्रबार विमानस्थलबाट बरामद गरिएको रकम पनि दाउदकै हुन सक्ने प्रहरीले आशंका गरेको छ । यस विषयमा अनुसन्धान भईरहेको अधिकारीहरुले बताएका छन् ।

युनुस अन्सारी यसअघि २०६५ पुस १८ गते ललितपुरको नख्खुस्थित उनकै घरबाट पक्राउ परेका थिए । पक्राउ परेको २ वर्षपछि जेलमा रहेका बेला २०६७ फागुन २६ गते सुन्धारास्थित केन्द्रीय कारागारको गेटमै उनीमाथि गोली प्रहार भएको थियो ।

केन्द्रिय कारागारमा सजाय काटिरहेका बेला उनीमाथि भारतीय नागरिक मनमित सिंहले गोली प्रहार गरेका थिए । तर, उनी सकुशल रहे । ३ वर्ष ९ महिना कारागार भुक्तान गरेका अन्सारी दोस्रो पटक २०६६ पुस ७ गते थापाथलीस्थित ब्लू स्टार कम्प्लेक्सबाट २५ लाख ४४ हजार ५ सय नक्कली भारतीय रुपैयाँ र ३ किलो ७ सय ग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए ।

त्यसपछि पनि उनी जाली नोट कारोबार र अवैध लागूऔषध कारोबारको अभियोगमा फेरि कारागार चलान भए । जेलबाट छुटेपछि अन्सारी जाली नोटको धन्दामा सक्रिय नै रहेको घटनाक्रमले देखाउँछ ।

त्यसपछि १२ माघ २०७० मा अन्सारीलाई ३५ लाख नक्कली भारतीय रुपैयाँसहित प्रहरीले ललितपुरबाट पक्राउ गरेको थियो । त्यतिबेला युनुस जेल सजाय भुक्तान गरी २०७४ चैत २ गते छुटेका थिए ।

युनुस जेल जानु अघि नेशनल टेलिभिजनका सञ्चालक समेत थिए । पाकिस्तानबाट कतार हुँदै नेपाल ल्याइएको जाली नोटका योजनाकार पनि उनै युनुस रहेको प्रहरीको आशंका छ ।

नेपालका क्यासिनोदेखि हाउजिङ हुँदै नेटवर्किङको व्यबसायमा समेत दाउदको लगानी रहेको भारतीय पक्षले आरोप लगाउँदै आएको छ । र, अन्सारी दाउदका नेपाल एजेन्ट भएको उसको आरोप छ ।

पाकिस्तानमा बसेर भारतविरोधी काम गर्दै आएका दाउद मुम्बइ विष्फोटका योजनाकार समेत हुन् । पछिल्लो समय काठमाडौं प्रहरीले अवैध नेटवर्किङको धन्दामा सक्रिय २० जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो । उनीहरु पनि दाउद निकट रहेको प्रहरी स्रोतले बताएको छ ।