भरतपुर,२ साउन । लामो समयको खडेरी अन्तको कामना गर्दै पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिरमा लगेका छन् । लामो समयदेखि परेको खडेरीले आक्रान्त बनेपछि किसानले पानी पर्ने विश्वासमा यस्तो उपाय निकालेको बताइएको छ ।
गाउँका अगुवालाई बाँधेर मन्दिर लैजाँदा पानी पर्छ भन्ने विश्वासमा जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगेको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए । उनका अनुसार पूर्व सांसद रामलखन हरिजन, गाउँपालिकाकी उपाध्यक्ष बासमती चमार, वडा नम्बर ४ का अध्यक्ष सुरेश यादव र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीलाई गाउँलेले बाँधेर मन्दिर लगेका हुन् । मन्दिर लगेपछि उनीहरुको पूजा गरिएको थियो ।
परम्पराअनुसार तीन दिनसम्म पूजा अर्चना गरी अन्तिम दिन गाउँका अगुवालाई बाँधेर बालबालिका सहित मन्दिरमा पूजा अर्चना गर्दा भगवान खुसी भएर पानी दिने विश्वास छ । अन्तिम दिनमा महिलाले हलो जोत्ने, बालबालिकालाई हिलो पानीमा खेलाउने, अगुवालाई हिलो छ्याप्ने जस्ता परम्परा रहेको चौधरीको भनाइ छ ।



















