- आचार्य अमृत
एकातिर संसार अर्ती र उपदेशमै चलेको हुन्छ भने अर्कातिर हिजोआज पहिलेकै ढङ्गढाँचामा कसैलाई पनि अर्ती/उपदेश दिन सकिँदैन । भनाइको मतलव सोझो भाषामा दिएको अर्ती कसैले पनि राम्ररी ग्रहण गर्दै गर्दैन । थाहा भएकै कुरो हो, अर्तीमूलक साहित्य आज पढिँदैन, अर्थात् अर्ती-उपदेशबहुल साहित्यले पाठक नै प्राप्त गर्न नसक्ने स्थिति छ । यसो भनिरहँदा के पनि भन्न छुटाउनु हुँदैन भने नीतिप्रधान शिक्षा नै आज सङ्कटमा पर्दै गएको छ ।
सोचिल्याउँदा कति गम्भीर छ कुरो ! आफ्ना सन्तति र शिष्य/शिष्याहरूलाई मातापिता र गुरुले 'यसो गर्नुपर्छ र यसो गर्नु हुँदैन' भनेर त भन्नै पर्ने हुन्छ । वास्तवमा अर्ती/उपदेश भनेको नै 'यसो गर्नुपर्छ र यसो गर्नु हुँदैन' भन्नु नै हो । सही अर्ती/उपदेश गरिएन भने ती बालबालिकाहरू बाल्यकालमा नै सङ्कटमा पर्न सक्छन्, अलि हुर्किएपछि कुसङ्गतमा लागेर बरबादीतिर जान पनि सक्छन् । यस डरले सबै अभिभावकहरूलाई गाँजिरहेको हुन्छ, त्यसैले तिनलाई सानैदेखि सही मार्ग देखाउने उद्देश्यले अर्ती / उपदेश गर्ने गरिन्छ, जुन आज जटिल कार्य हुँदै गएको छ ।
त्यसो भए अब के गर्ने त ? अर्ती / उपदेश दिन नै बन्द गर्ने त ? मलाई लाग्छ, यो यसको स्थायी समाधान होइन । यो त जसरी पनि गर्नै पर्छ । तर कसरी ? यसै कुरामा गम्भीर भएर विचार गर्नु जरुरी छ भन्ने मलाई लाग्छ ।
अब अर्ती/उपदेश दिने हिजोको शैलीमा परिवर्तन ल्याउनुपर्छ । अर्ती गर्ने मानिसमा घटनाको कारण र त्यसको परिणाम देखाउन सक्ने क्षमता हुनुपर्छ । 'यसो गर्नुपर्छ र यसो गर्नु हुँदैन' भन्नुको सट्टा 'फलानाले यसो गर्दा यस्तो सफलता प्राप्त गरेछ र फलानाले यसो गर्दा उसको दुर्गति भएछ' भन्ने किसिमले जानुपर्छ जस्तो मलाई लाग्छ । आजको दुनियाँ उदाहरणमा मात्र विश्वास गर्छ । बिनाउदारण प्रस्तुत गरिएका अभिव्यक्तिहरू सारत: अग्राह्य नै हुन्छन् हिजोआज । त्यसैले आज प्रत्येक आमाबाबु र शिक्षकले यस मन्त्रमा आफूलाई पोख्त बनाउनु जरुरी छ । यी कुरा यहाँहरूसमक्ष राखिरहँदा मैले पनि उदाहरण प्रस्तुत गर्नुपर्छ जुन तल देखाइन्छ :
भन्न खोजेको कुरो १ : दिउँसो सुत्नु राम्रो होइन । भन्ने तरिका : क भन्ने व्यक्तिलाई दिउँसो नसुती नहुने रहेछ । उसको त्यस बानीले उसलाई रातमा निद्रा पर्न छोडेछ । सधैँको छटपटीमा रात बिताउँदै जाँदा उसको स्वास्थ्य नै बिग्रिएर अहिले उसलाई अस्पताल भर्ना गरिएको रहेछ ।
भन्न खोजेको कुरो २ : बढी नुनिलो (चर्को ) र बढी गुलियो चिज खाने गर्नु हुँदैन ।
भन्ने तरिका : हिजो ख भन्ने व्यक्तिलाई एक्कासि चक्कर लागेछ र हत्तपत्त उसलाई अस्पताल पुर्याइएछ । प्रेसर हेरेर रगत जाँच्ता शरीरमा नुन र चिनीको मात्रा अत्यधिक भई दुइटै कुरामा समस्या आएको रिपोर्ट आएछ । अब आजीवन औषधि सेवन गर्नुपर्ने हुन पनि सक्छ रे ।
भन्न खोजेको कुरो ३ : अत्यधिक मद्यपान गर्नु आफ्नो काल आफैँ निम्त्याउनु हो ।
भन्ने तरिका : हाम्रा गाउँका ग बाजे रक्सीबिना एक पाइलो पनि हिँड्न सक्तैनथे । अस्ति त डाक्टरले 'अब पनि रक्सी खाइरह्यौ भने तिम्रा दिन धेरै छैनन्' भनेर भनिदिएपछि उनले चट्टै मद्यपान छोडेछन् । हिजो बजारमा भेट भएको थियो, शरीर हट्टाकट्टा र मुख उज्यालो देखेँ मैले तिनको ।
भन्न खोजेको कुरो ४ : सिरानीमा मोबाइल राखेर सुत्ने गर्नु हुँदैन ।
भन्ने तरिका : घको सिरानीमा मोबाइल राखेर सुत्ने बानी रहेछ । त्यसैको असरले गर्दा उसको स्मरणशक्तिमै ह्रास आएको कुरो डाक्टरबाट पत्ता लागेछ ।
भन्न खोजेको कुरो ५ : ब्रह्ममुहूर्त ( ३ र ४ बजेको बिच ) मा उठ्ने बानी लगाउनु स्वास्थ्यका लागि ज्यादै उपयोगी हुन्छ ।
भन्ने तरिका : चका श्रीमान्/श्रीमती सधैँ ब्रह्ममुहूर्तमा उठेर एक घण्टा प्रात: भ्रमणमा निस्कन्छन्, अहिलेसम्म दुवैले एउटा सिटामोलसम्म पनि खानुपरेको छैन रे ।
यी त केही उदाहरण मात्र भए । यतिले नै भए पनि मातापिता र गुरुजनलाई आफ्नो उपदेश दिने शैलीमा परिवर्तन ल्याउने कुरामा सहयोग पुग्न सक्यो भने मैले आफ्नो कार्य ठिकै भएछ भनेर मान्नुपर्छ ।
[ द्रष्टव्य : साराका सारा प्रसङ्गमा उदाहरण हुनैपर्छ भन्ने छैन । विवरणात्मक विषयमा त विवरणले नै काम गर्ने हुन्छ । खासगरी अर्ती/उपदेशमा चाहिँ उदाहरणको भूमिका अपरिहार्य नै हुने देखियो । ]



















