रूपन्देही,१५ साउन । रूपन्देहीबाट प्यूठानको स्वर्गद्वारी गएर फर्केको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । घटनास्थलमै एकजना र उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका- ४ की ५४ वर्षीय कान्ति कर्ण र मायादेवी गाउँपालिका- ३ का ७० वर्षीय पटवारी कुहारको एडवन सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै ३२ वर्षीय गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।
घाइतेहरूमा रुपन्देहीको मायादेवी- ७ का ४२ वर्षीय विनोद कुहार, सिद्धार्थनगर- ४ का ४० वर्षीय उर्मिला कुहार, १५ वर्षीय चन्दन कुहार, मायादेवी- ३ का ४० वर्षीया आशा थारु, ३ का ६३ वर्षीय रुदल चौधरी, ५० वर्षीया मागरी थारु, ६१ वर्षीय प्रल्हाद थारु, सिद्धार्थनगर- ६ का ७० वर्षीय धुव्रनारायण काबी, सिद्धार्थनगर- ६ का ६० वर्षीया उर्मिला वर्मा, मायादेवी- ३ का ५५ वर्षीया किसदी थारु, सिद्धार्थनगर- ६ का ६० वर्षीया पुष्पा माली, ५२ वर्षीय सरोज माली, मायादेवी- ७ का अन्दाजी ७३ वर्षीया कल्वारी कुहार, ७५ वर्षीय प्राग कुहार, ६ वर्षीया संगीता कुहार रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
घाइतेहरुको बुटवल र भैरहवास्थित अस्पतालमा उपचार भइरहेको छ ।
सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाबाट आफन्तजन मिलेर जीप रिजर्भ गरी १७ जना स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएका थिए । स्वर्गद्वारीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको लु३च ३५३ नम्बरको जीप शनिबार स्वर्गद्वारी नगरपालिका- ४ भ्यागुतेमा दुर्घटनामा परेको थियो ।
ब्रेक फेल भएर जीप दुर्घटनामा परेको हुनसक्ने प्रहरी नायब उपरीक्षक थापाले बताए ।



















