बर्दिबास,१५ साउन । करेत सर्पको टोकाइबाट माइस्थान पब्लिक एकेडेमीका प्रधानध्यापक युवराज श्रेष्ठको मृत्यु भएको छ । शनिबार राति उपचारका क्रममा उनको मृत्यु भएको हो ।
सर्पले टोकेको थाहा पाएपछि श्रेष्ठ आफैँ मोटरसाइकल चलाएर सर्पदंश उपचार केन्द्र बर्दिबासस्थित गौरिडाँडामा पुगेका थिए । ‘उहाँ सामान्य अवस्थामा आउनुभएको थियो, सर्पले टोक्यो भन्नुभयो । हामीले हेर्दा पछाडि ढाडमा र घाँटीनेर डसेको रहेछ,’ उपचारमा संग्लन चिकित्सक इन्द्र केसीले भने ।
उपचारको क्रममा श्रेष्ठलाई राति झण्डै १२ बजे स्वासप्रस्वासमा निक्कै अफ्ठ्यारो परेपछि जनकपुर प्रादेशिक अस्पतालमा पठाउने तयारी गर्दागर्दै निधन भएको सर्पदंश उपचार केन्द्र गौरिडाँडाले जनाएको छ ।



















