आफ्ना प्रारम्भिक दिनहरू सम्झँदा मलाई आज पूरै सपनाजस्तो लाग्छ । विगत दुई दशकदेखि सुका र मोहर भन्ने शब्दको उच्चारण नै हुन छोडेको छ । ती दिनमा भने यिनको चर्चा-परिचर्चा र प्रयोग अति नै धेरै हुने गर्थ्यो । मजस्ता विपन्न मान्छेका लागि त सुका र मोहरको गुन तिरिनसक्नु नै थियो भन्दा हुन्छ ।
के हुन् त यी सुका र मोहर ?
सुका भनेको पच्चिस पैसाको सिक्का (coin) हो भने मोहर पचास पैसाको । सुका रुपियाँको चौथाइ अंश हो भने मोहर रुपियाँको आधा अंश । त्यसबेला एकातिर जौको बाला र अर्कातिर खुकुरी भएको सुकाको ज्यादै चल्ती थियो । सुकालाई सुकी पनि भनिन्थ्यो । त्यसैगरी मोहर पनि विभिन्न किसिमका थिए ।
मलाई झलझली सम्झना छ, एक सुकाको नास्ता खाएपछि त्यस छाक खाना खानै पर्दैनथ्यो । केर्खा र दमकको गाडीभाडा एक मोहर थियो । इटहरीबाट विराटनगरको भाडा एक रुपियाँ साठी पैसा र धरानको भाडा एक रुपियाँ चालिस पैसा थियो । दस रुपियाँ लिएर बजार जाँदा खर्च गर्न पैसा पुगेर कहिलेकाहीँ एक/ दुई रुपियाँ उब्रन्थ्यो पनि । एक हजार रुपियाँ भए बिहे नै टार्न सकिन्थ्यो ।
पैँसट्ठी रुपियाँ लगाएर किनेको बेलौरी गाईको दूध खाने मान्छे मै हुँ । एकपटक ज्यादै ठूलो आर्थिक सङ्कट पर्दा आमाले नाक-कानमा लगाएका सुनका गहना बेच्नुपर्ने भयो । दमकमा लगेर जोखाउँदा डेढ तोला भयो र त्यसको जम्मा ९००/- रुपियाँ पाइयो । त्यसबेला पनि तिहारमा देउसी खेल्ने र नाच हिँडाउने चलन थियो । नाङ्ग्लामा चामल र रोटी त हिजोआजजत्तिकै मात्रामा राखिदिइन्थ्यो, तर पैसा भने ठूलो नाच भए पाँच मोहर अर्थात् अढाई रुपियाँ र सामान्य भैलो वा देउसीका लागि एक मोहर भए काफी हुन्थ्यो, खुसी भएर त्यो स्वीकार गरी घरवालालाई आसिक दिन्थे । गोजीमा सधैँ सय रुपियाँ लिएर हिँड्ने मान्छेको मानमनितो नै भिन्नै हुन्थ्यो, ऊ माथपरी मानिन्थ्यो ।
कक्षा १० मा पढुन्जेलसम्म मसँग कहिले सुका, कहिले मोहर हुन्थ्यो भने धेरैजसो गोजीमा एक पैसा पनि रहँदैनथ्यो, चलेकै थियो । छोरीको बिहेमा जाने निम्तारुले सालाखाला एक रुपियाँ लेखाउने गर्थे/ गरिन्थ्यो । निकै धनीहरूले भने पाँच रुपियाँ पनि लेखाउँथे, उनीहरूको सान नै अर्कै हुन्थ्यो । रु. ३२.६० हालेर किनेका साबरका जुत्ता मैले पूरै १० वर्ष लगाएँ ।
अहिले सुनको भाउ प्रतितोला रु.१,००,०००/- पुगेपछि म ती सुका र मोहरलाई सम्झन पुगेको हुँ । त्यस्ता थिए ती दिन, यस्ता आए यी दिन, अझ कस्ता कस्ता दिन भोग्नुपर्ने हो, भन्न सकिँदैन ।



















