विराटचोक,१९पुस । मोरङको सुन्दरहरैँचा नगरपालिकाको विराटचोक बजारमा आरो प्रविधिद्वारा फिल्टर गरिएको स्वच्छ पिउने पानीको सार्वजनिक धारा निर्माण हुने भएको छ ।
वडा नम्बर १२ र नगरपालिकाको बजेटबाट करीब ९ लाख लागतमा महेन्द्रा प्युरिफायर प्रा.लि.ले धारा निर्माण गर्ने भएको हो । कम्पनीका प्रदेश १ प्रमुख सुशील घिमिरेले काठमाडौ बाहिर पहिलो पटक यो प्रविधिको धारा निर्माण हुने बताए ।
एउटा सेन्सरसहित २ वटा धारा सञ्चालन हुने भएका छन् । धारा निर्माण गर्न मंगलबार नगरप्रमुख केदारप्रसाद गुरागाईँ, उपप्रमुख अकली चौधरी र वडाध्यक्ष रोशनप्रसाद ढकालले संयुक्त रूपमा शिलान्यास गरे ।
यात्री र किनमेल गर्न आउने नागरिक, व्यापारीहरूलाई निःशुल्क स्वच्छ पिउने पानी उपलब्ध गराउने उद्देश्यले आधुनिक धारा निर्माण गर्न लागिएको नगरप्रमुख गुरागाईले बताए ।
कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाकी कार्यपालिका सदस्य रुजा घिमिरे उद्योग वाणिज्य संघका महासचिव नारायण कार्की, निवर्तमान अध्यक्ष नवराज चापागाईं,युवा समाजसेवी आनन्द बस्नेत लगायतको उपस्थिति रहेको थियो । यो धारा १ महिनामा निर्माण सकिने कम्पनीले जनाएको छ । निष्पक्ष खबर डट कमबाट



















