हेटौडा,२९ पुस । मकवानपुरको मनहरी गाउँपालिका—९ भलादमी चोक नजिक सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गस्थित भलादमी चोकमा बिहीबार ना ३९ प १४३९ नम्बरको स्कुटरलाई सवारी साधनले ठक्कर दिदाँ ३ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता टेकबहादुर कार्कीको अनुसार दुर्घटनामा परि स्कुटरमा सवार मनहरी गाउँपालिका ८ का ३२ वर्षीय धर्मराज मोक्तान, मिलन मोक्तान र राक्सिराङ गाउँपालिका—३ का रुपेश तामाङको मृत्यु भएको छ। रुपेश र मिलनको भरतपुरस्थित पुरानो मेडिकल अस्पतालमा पु¥याउने बित्तिक्कै मृत्यु भएको थियो भने धर्मराजको शुक्रबार बिहान ३ बजे उपचारका क्रममा मृत्यु भएको हो।
स्कुटरलाई ठक्कर दिने सवारी साधनको पहिचान हुन सकेको छैन। मृतक तीनै जना एउटै स्कुटरमा सवार थिए । दुर्घटनाका कारण आक्रोशित स्थानीयले बिहीबार राति ११ बजेदेखि बिहान ६ बजेसम्म राजमार्ग ठप्प पारेका थिए । ठक्कर दिने सवारी साधनको तत्काल पत्ता लगाउने सहमतिमा राजमार्ग खुलाइएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।




















