पथरी,२६ माघ । मोरङको पथरीशनिश्चरे -२ स्थित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिकोत्सव सम्पन्न भएको छ । पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्वापोले संस्थाको २१ औं वार्षिकोत्सवको उद्घाटन गरेका छन् । उदघाटनको क्रममा बोल्दै तुम्वापोले नगरभित्रका सहकारीको संचालनका लागि स्थानीय सहकारी ऐन बनाएर आगामी सहकारी अभियान्ताहरूकाे सरसल्लाह र सुझाव लिएर कार्यविधि निर्माण गर्न छलफलमा लगिने बताएका छन् ।
सोहि अवसरमा जिल्ला राष्ट्रिय बचत तथा ऋण सहकारी संघ मोरङ्गका वरिष्ठ उपाध्यक्ष एकराज निरौलाले सहकारी संस्थाका नाममा कतिपय नाम मात्रका सहकारी संस्थाहरूले सहकारी संचालन विपरीत रहेर आर्थिक हिनामिना ,विकृति र विसङ्गति बढाएको भन्दै नगरपालिकाले वित्तीय ऐन एवं नियमावली बनाएर सहकारी संस्थाहरूका गतिविधि अनुगमन गर्नुपर्ने बताएका छन्।
।सोहि अवसरमा गत आइतबार भएको चौथो अन्तर्विद्यालय स्तरीय वक्तृत्त्वकला प्रतियोगिताका विजयी छात्र- छात्रा पुरस्कृत गरिएको थियो।
`वर्तमान आर्थिक संकट व्यवस्थापनमा सहकारीको भूमिका´ विषयक वक्तृत्वकला प्रतियोगितामा वडा नं- ३ को चन्द्रकिरातेश्वर माविकी छात्रा निवा चेम्जोङले प्रथम, वडा नं १ को न्यू प्यागोडा अंग्रेजी माध्यमिक विद्यालयका छात्र भविन्द्र अधिकारी - द्वितीय र वडा नं -२ को रेडस्टार आवसीय माध्यमिक विद्यालयकी छात्रा मोनिका आचार्य तृतीय भएकी थिइन्। मोरङ्ग मेरिगोल्ड अंग्रेजी माध्यमिक विद्यालयका समीर कार्की र पञ्चायत माध्यमिक विद्यालयकी गंगा भण्डारीले भने सान्त्वना स्थान हासिल गरेका थिए।
प्रतियोगिताका विजयी प्रथम, द्वितीय , तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने छात्र छात्राहरुलाई नगरप्रमुख सहित अतिथिहरूले क्रमशः ३५ सय , २५ सय ,१५ सय र ५ सय नगदसहित प्रमाण पत्र प्रदान गरेका थिए । नगरभित्रका १५ वटा विद्यालयहरूले सहभागिता जनाएका थिए।
आफ्नो सहकारी संस्थामा आवद्ध २९ जना जेष्ठ नागरिकलाई कार्तिक, मंसिर र पौष मसान्तसम्मको एकमुष्ट पेन्सन भत्ता वितरण गरिएको थियो । साथै, जेष्ठ नागरिक सम्मान तथा ५ प्रिन्ट भन्दा बढी रक्तदान गर्ने संघ संस्थाहरुलाई समेत सम्मान गरिएको थियो भने आफ्नो संस्थाका एकल महिला तथा पुरुषहरूलाई पनि राहत रकम वितरण गरिएको थियो।
पथरी शनिश्चरेमा कार्य क्षेत्र बनाई पत्रकारिता गर्दै आएका भूमिप्रसाद पाठकलाई प्रमुख अतिथि नगरप्रमुख तुम्वापोले ५ हजार १ रूपैयाँ बराबरको `लर्ड बुद्व साकाेस पत्रकारिता पुरस्कार २०७९´ प्रदान गरिएकाे थियो।
संस्थाका अध्यक्ष धनराज अमीर राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नं २ का वडाध्यक्ष नैना साम्पाङ राई, ७ नं वडाका वडा अध्यक्ष उद्ववराज बस्नेत , वडा सदस्य चन्द्र कुमार राई, भक्तशेर राई , साना किसान सहकारी संस्था लिमिटेड अध्यक्ष विन्दा देवि राई ( विन्दु) , चन्द्रकिरातेश्वर माविका प्रधानाध्यापक हर्क जिमी राई, लगायतको उपस्थिति रहेको थियो।




















