धनुषा,२७ माघ । कुमारी आमाका रुपमा चर्चामा आएकी निहारिका राजपुतले शिवराज श्रेष्ठसँग बिवाह गर्नुभएको छ । एक छोराका आमा बुवा निहारिका र शिवराजले अदालतमा मिलापत्र भएपछि बिवाह गर्नुभएको हो ।

निहारिका–शिवराजले जनकपुरधामको जानकी मन्दिरमा गएर बिवाह गर्नुभएको हो । बलात्कारको आरोप लगाउँदै शिवराजविरुद्ध अदालतमा उजुरी समेत गर्नुभएकी निहारिकाले शिवराजविरुद्ध अंश मुद्दासमेत हाल्नुभएको थियो ।

उहाँहरुबीच १७ माघमा जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र भएको थियो ।

मिलापत्र अनुसार श्रेष्ठले निहारिकालाई श्रीमतीका रुपमा स्वीकार गर्नुभएको थियो । जिल्ला अदालतमा अंश मुद्दा दिएकी निहारिकाले दुईबीच पति–पत्नीका रुपमा बस्ने निर्णय अनुसार मिलापत्र गरेको बताउनु भएको थियो ।

निहारिकाले आफू बलात्कृत भएको र कानूनी उपचारका लागि प्रशासनले सहयोग नगरेको भन्दै लामो समयदेखि आन्दोलन गरिरहनु भएको थियो । त्यसक्रममा उहाँ पटकपटक पक्राउ समेत पर्नुभएको थियो ।

निहारिकाले आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने, घटनाको सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी काम भएको भन्दै पुनः जाँच गरिनुपर्ने लगायको माग राख्दै अनशन समेत बस्नुभएको थियो ।

यो प्रकरण पहिल्यै अदालतसम्म पुगेको थियो । तर, जिल्ला अदालत, धनुषाले २४ माघ २०७८ मा श्रेष्ठलाई सफाइ दिएको थियो । सविरुद्ध निहारिका उच्च अदालत जनकपुर पुग्नुभएको थियो ।

उहाँको विरोधपछि बलात्कारको मुद्दामा प्रमाणको मूल्यांकन नगरी आरोपीलाई सफाइ दिएको भन्दै धनुषाका तत्कालीन जिल्ला न्यायाधीश डा. परशुराम भट्टराई पनि जिल्ला अदालत तानिनु भएको थियो । बलात्कार सम्बन्धी मुद्दा उच्च अदालतमा अझै विचाराधीन छ ।

निहारिकाले बच्चा शिवराजको नै भएको बताउँदै डीएनए परीक्षणको माग गर्नुभएको थियो । परीक्षण गर्दा डीएनए पनि मिलेको थियो । डिएनए मिलेसँगै शिवराजले आफ्नो पत्नी स्वीकार गर्ने जनाउनु भएको थियो ।