विराटचोक,२९ माघ । मोरङको सुन्दरहरैंचा नगरपालिकाको एघारौँ नगरसभा आइतबार शुरु भएको छ । सभामा उपप्रमुख अकली चौधरीले चालु आर्थिक वर्षको संशोधित बजेट प्रस्तुत गरेकी छिन् ।
सो नगरसभामा विधायन निर्माण समितिका सदस्य रोशनप्रसाद ढकालले ६ वटा विधेयक छलफलका लागि प्रस्तुत गरेका छन् । ढकालले ४ वटा नयाँ विधेयक र २ वटा पुराना ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत गरेका हुन् । संशोधित बजेट र प्रस्तुत भएका विधेयकमाथि फागुन ४ गतेदेखि छलफल हुने विधान निर्माण समितिका संयोजक न्यौपानेले जानकारी दिए ।
विधान निर्माण समितिका संयोजक वडा नम्बर ८ का वडाध्यक्ष खेमप्रसाद न्यौपाने रहेका थिए । सदस्यहरुमा वडा नम्बर १२ का वडाध्यक्ष तथा नगर प्रवक्ता ढकालका साथै वडा नम्बर ४ का वडाध्यक्ष कैलाश बस्नेत रहेका थिए । त्यस्तै, कार्यपालिका सदस्य आनन्दकुमारी लिंखा र वडा नम्बर १० की महिला सदस्य तथा कार्यपालिका सदस्य बबिता खापुङ सो समितिको सदस्य रहेका थिए ।
यी हुन् आज प्रस्तुत भएका विधेयकहरुः
१. खेलकुदको विकास गर्न बनेको विधेयक २०७९,
२. वातावरण तथा प्राकृतिक स्रोत संरक्षण विधेयक २०७९,
३. विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७९,
४. सहकारी ऐन २०७५ लाई पहिलो संशोधन गर्न बनेको विधेयक २०७९,
५. कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७९,
६. विद्यालय शिक्षा व्यवस्थापन गर्न बनेको ऐन २०७९ ।





















