काठमाडौं,८फागुन । नेपाली कांग्रेसका नेताहरुले भारतले कांग्रेसबाटै राष्ट्रपति चाहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धम्कीको भाषा प्रयोग गरेको तथ्य खुलेको छ ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आज प्रधानमन्त्री दाहालसँगको भेटमा यस्तो खुलासा गर्नुभएको हो । प्रधानमन्त्री दाहाल सत्तारुढ गठबन्धनका प्रमुख दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उहाँकै निवास बालकोटमा भेट गरी बालुवाटार फर्केलगत्तै शुक्रबार साँझ सिटौला बालुवाटार पुग्नुभएको थियो ।
भेटमा प्रधानमन्त्री दाहालले आफू सत्ता गठबन्धनको सहमतिसहितको राष्ट्रिय सहमतिको पक्षमा रहेको बताउनु भएपछि सिटौलाले भारतीय संस्थापन पक्षले कांग्रेसकै राष्ट्रपति चाहेको कुरा बुझेर अघि बढन भन्दै धम्कीको भाषा प्रयोग गर्नुभएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले जनताटाइम्स डटकमलाई बताए ।
‘कांग्रेसबाटै राष्ट्रपति होस भन्ने भारतको चाहना छ, एमालेबाट हुनै हुन्न भन्ने छ, तपाईं रिस्क नलिनोस, कांग्रेसकै राष्ट्रपति बनाउन निर्णय लिनोस, भारतको यो चाहनालाई ख्याल गर्नाेस,’ प्रधानमन्त्रीसँग सिटौलाको भनाई उधृत गर्दै ती सदस्यले जनताटाइम्स डटकमसँग भने । स्रोतका अनुसार सिटौलाले प्रधानमन्त्रीको राष्ट्रिय सहमतिको अडानलाई एमालेबाट राष्ट्रपति नहुने र कांग्रेसबाटै हुने अर्थका रुपमा आफूहरुले लिएको पनि बताउनु भएको छ ।
सिटौला भारतीय संस्थापन पक्षका निकै बिश्वासपात्र मानिनु हुन्छ । सोही आधारमा सिटौलाले माओवादीबाट निर्णय भए कांग्रेसबाट आफैलाई अघि सार्ने र दक्षिणको पुर्ण समर्थन हुने बताउनु भएको स्रोतले बतायो । सिटौलाले कांग्रेसले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजेको भन्दै त्यही कारण २६ पुसमा विश्वासको मत दिएको पनि बताउनु भएको थियो ।
’कांग्रेसको चाहना कम्फर्टेवल होस भन्ने हो । हामीले यही स्प्रिटलाई लिएर तपाइलाई विश्वासको मत दिएका हौं । राष्ट्रिय सहमतिका लागि तपाईले एमालेलगायत सत्तारुढ दलहरूलाई मनाउनुस,’ प्रधानमन्त्रीसँग सिटौलाको भनाई उधृत गर्दै अर्का सदस्यले भने । राष्ट्रपतिमा कांग्रेसलाई सघाए एमालेले समर्थन फिर्ता लिए पनि आफूहरुले समर्थन गर्ने प्रतिवद्धता पनि सिटौलाले गर्नुभएको छ ।
स्रोतका अनुसार सिटौलाले भर्खरै नेपालको भ्रमणमा आएका भारतीय बिदेस सचिव बिनय मोहन क्वात्राले समेत प्रधानमन्त्रीको राष्ट्रिय सहमतिको कुरा कांग्रेसलाई राष्ट्रपति दिने नै रहेको आफ्नो बुझाइ राखेको भन्दै त्यसो नगरे कम्फर्टेवल नहुने धम्कीसमेत दिनुभएको छ ।
प्रधानमन्त्री दाहाललाई एमालेले समर्थन फिर्ता लिएको अवस्थामा सवैभन्दा ठूलो दलको हैसियतमा कांग्रेस नै प्रधानमन्त्री बन्छ । त्यसबेला प्रचण्डले नै कांग्रेसलाई बिश्वासकोमत दिर्नैपर्ने बाध्यता रहन्छ । यस बिषयमा सिटौलाले राष्ट्रपति पाए भारतको चित्त बुझ्ने र आफूहरुले समर्थन गर्ने भन्दै मनाउन खोजेको स्रोतको भनाई छ ।
भेटमा प्रधानमन्त्री दाहालले भने नेकपा एमाले अध्यक्ष ओलीले १० पुसको सहमतिलाई कायम राख्नुपर्ने अडान लिँदै आएको भन्दै सत्ता गठबन्धनको सहमति भए मात्रै यस बिषयमा सोचन सकिने बताउनु भएको छ । प्रधानमन्त्री नियुक्त हुनुअघि पुस १० गते दिउसो माओवादीले प्रधानमन्त्री पाउँदा राष्ट्रपति र सभामुख एमालेले पाउनुपर्ने सहमति भएको थियो।
तर सहमति विपरित प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको रटान लिएको एमाले नेताहरुको आरोप छ । एमाले र माओवादीलाई भारतकोसमेत धम्की दिएर यही बिवादमा फुटाउन सके आफूहरुको राष्ट्रपति र प्रधानमन्त्री दुवै हुने भन्दै कांग्रेस नेताहरु प्रधानमन्त्रीलाई गल्ती गर्न उक्साइ रहेका छन ।
तर सिटौलासँग प्रधानमन्त्री दाहालले यस्तो गल्ती नगर्ने बताउनु भएको छ । प्रधानमन्त्री प्रचण्डले एमाले तत्काल ब्याक हुने अवस्थामा नरहेको भन्दै आफ्नो प्रयासलाई गलत अर्थमा नबुझ्न सिटौलालाई सुझाउनु भएको छ ।
’सकेसम्म राष्ट्रिय सहमतिमा जाऔं भन्ने हाम्रो नीति हो । पार्टीले पनि यही नीतिलाई अपनाएको छ । तर गठबन्धनमा आबद्ध दलहरूसँग निरन्तर छलफल भइरहेको छ । एमाले तत्कालै ब्याक हुने अवस्थामा पनि छैन, एमालेको सहमतिबिना राष्ट्रिय सहमति संभव पनि छैन,’ सिटौलासँग प्रधानमन्त्रीको जवाफ थियो ।




















