विराटनगर,९ फागुन । झापामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सहयोगी एक युवाले आत्मदाहको प्रयास गरेका छन्। मंगरबार अपराह्न ४ बजे बिर्तामोडको मुक्तिचोकमा शरीरमा पेट्रोल छर्किएर ३४ वर्षीय विजय चौधरीले आत्मदाहको प्रयास गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार चौधरी बीएण्डसी हस्पिटलमा चालकको काम गर्थे । उनी दुर्गा प्रसाईंको सहयोगीका रूपमा रहेका थिए । उनले आफ्नो पाखुरामा प्रसाईको टाटु नै बनाएका छन् ।
चौधरी बिर्तामोड नगरपालिका वडा नम्बर ७ निवासी चौधरीलाई पैदलयात्रीहरुले तत्कालै बचाएका थिए । बिर्तामोडका डिएसपी सुरज कार्की भन्छन्, ‘आगलागी हुनासाथ बाटो हिड्ने मान्छेले देखेर तत्कालै आगो निभाएछन् । नजिकका प्रहरीहरु नपुग्दै आगो निभेको थियो । उनले पातलो कुर्था लगाएका थिए ।’




















