काठमाडौं,२८ असार । सीता दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनसंगिनी मात्रै नभएर प्रचण्डलाई प्रचण्ड बनाउन पनि उनको ठूलो भूमिका रहेको छ।चाहे सशस्त्र ‘जनयुद्ध’का बेला होस्, चाहे शान्तिपूर्ण राजनीतिमा, उनले प्रचण्डलाई आफूले जानेको सल्लाह र सुझाव दिइरहिन्।
१५ वर्षकै उमेरमा प्रचण्डलसँग वैवाहिक जीवनमा बाँधिएकी सीता २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध भएकी थिइन्। उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै पछिल्ला दिनमा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार थिइन्।
मूल्यांकन मासिकका लागि राजेन्द्र महर्जन, चन्द्र खाकी र चन्द्रलाल गिरीसँग उनले केही वर्षअघि आफ्नो विवाह, पारिवारिक जिन्दगी, राजनीतिमा प्रवेश, सशस्त्र जनयुद्धका पल र शान्ति प्रक्रियामा आएपछिको जीवन’ खुलेर बोलेकी थिइन्। यो अन्तर्वार्तापछि ‘जनयुद्धका नायक’ पुस्तकमा समेत प्रकाशित गरिएको थियो। ‘जनयुद्ध’ ताका नेपालमा र भारतमा आफूले प्रचण्डलाई कसरी सुरक्षित गराएको जस्ता घटना पनि उनले अन्तर्वार्तामा सम्झिएकी छन्।
‘त्यस्ता घटना त धेरै छन्। ठ्याक्कै मेरो बलले उनलाई बचाएका मुख्यतः दुइटा घटना छन्। एकपटक सात वर्षअगाडि भारतमा अल कायदाको खुब चर्चा र खोजी भइरहेको थियो। उहाँ र म दिल्लीबाट गोरखपुर आउँदै थियौं। रेलको एउटा सिटमा हामी दुई जना सुतेर आएका थियौं। एउटाको टाउको अर्कोको खुट्टायता बनाएर, उल्टोपाल्टो हुँदै। त्यहाँ इन्डियन प्रहरीले रेलका सारा महिला, बच्चा, वृद्धदेखि लिएर कागजपत्रसमेतको सम्पूर्ण जाँच गर्दै थियो। उहाँले हाम्रो ठूलो झोलामा माओवादी डकुमेन्ट, पुस्तक र लेख राखेर ल्याउनुभएको थियो। मैले दिल्लीमा नै उहाँलाई भनेकी थिएँ, ‘अहिले किताब नलैजाऔं। हाम्रो स्टाफपछि आउँदै हुनुहुन्थ्यो। बाइचान्स चेक भयो भने सबै पर्छ। तपाईं नबोक्नुस्।’ यति भन्दाभन्दै उनले लिएर आइहाल्नुभयो केही हुन्न भनेर। उनले रेलमा ती सबै सामान सिरानीमा हालेर बसेकी थिइन्। यो समाचार राजधानी दैनिकमा छ।




















