काठमाडौं । अहिले हलमा नयाँ नेपाली फिल्म छैनन् । आउँदो शुक्रबार पनि कुनै नयाँ नेपाली फिल्म प्रदर्शनमा आउने छैनन् । केही हलमा ‘जात्रै जात्रा’ र ‘आप्पा’ प्रदर्शनमा छन् । 

फिल्म भएर हलमा नचलेको होइन यसवर्ष फिल्म निर्माण नै घटेको छ । छायांकन सकेर बसेका फिल्मको संख्या न्यून छ । यता केही सीमित फिल्म छायांकनमा छन् भने छायांकनमा जाने तयारी गर्दै गरेका फिल्मको संख्या पनि न्यून छ । 

विगतका वर्षमा असार मध्यसम्म धेरै फिल्मले छायांकन सकाइसक्थे । तर, यसवर्ष भने फिल्मको निर्माण आश्चर्यजनक ढंगले घटेको चलचित्र निर्माता संघ नेपाल जनाउँछ । संघका अध्यक्ष आकाश अधिकारी भन्छन्  –‘फिल्म निर्माणमा ९० प्रतिशतले कमी आएको छ । यो फिल्म उद्योगकै लागि चिन्ताको विषय हो ।’

किन बिच्किए निर्माता ?

गतवर्ष १ सय हाराहारी नेपाली फिल्म प्रदर्शनमा आए । त्यसमा आधा दर्जन फिल्म पनि नाफामा जान सकेनन् । अपेक्षा गरेका फिल्मले नै हावा खाए ।  युवा स्टार प्रदीप खड्काको ‘रोज’, ‘लभ स्टेशन’, पूजा शर्माको ‘रामकहानी’, सुविन भट्टराईको उपन्यासमा आधारित ‘समर लभ’, ‘यात्रा’ जस्ता आशातीत फिल्मले नेपालबाट लगानी उठाउन नसक्दा अनमोल केसीको ‘क्याप्टेन’ले पनि अपेक्षाकृत व्यापार गरेन ।
 
‘नाई नभन्नू ल ५’, ‘छक्का पञ्जा ३’, ‘जय भोले’ र ‘ए मेरो हजुर ३’ ले मात्र निर्मातालाई नाफामा डोर्याए । 
वर्षको अन्त्यतिरको केही महिना त हलमा दर्शक नपुगेर कर्मचारीहरु झिंगा धपाउँदै बस्नुपरेको गुनासो सुनियो । 

कलाकारको महङगो पारिश्रमिक तर फिल्मको घट्दो ब्यापारले निर्माताहरु डराए । एक/दुई फिल्मले गरेको व्यापार देखेर निर्माणमा हात हाल्नेहरु यसवर्ष हराएको फिल्म सरोकारवाला बताउँछन् । 

पुराना निर्देशक दयाराम दाहाल भन्छन् –‘लगातार फिल्म असफल हुनु, तिनको कारण नखोजिनु र फेरि पनि हावा तालमा फिल्म बनिरहेका थिए । लहलहैमा निर्माता बन्नेहरुले फिल्म व्यापारको अवस्था बल्ल बुझेका छन् ।’ उनको कुरामा सहमत जनाउँछन् फिल्म वितरक गोपाल कायस्थ । 

उनी भन्छन् –‘विगतमा नयाँ–नयाँ निर्माताहरु आउँदा धेरै फिल्म बनेको थियो । तर, लहलहैमा आउने निर्माताका फिल्म फ्लप भएपछि यसवर्ष नयाँ निर्माताहरु कम छन् । त्यसैले यसवर्ष फिल्म कम छन् ।’   

यसवर्ष ब्राण्डेड फिल्म बढी रहेको गोपाल बताउँछन् । ‘छक्का पञ्जा’ जस्ता सफल फिल्मको व्यापारको उदाहरण दिएर मुर्गा बनाएर नयाँ निर्माता भित्रयाउने परिपाटी थियो । त्यस्ता निर्माताहरु फिल्म फ्लप भएपछि सक्रिय हुन् सकेनन् । नयाँ नआउँदा अहिले निर्माण कम भएको हो’– गोपाल भन्छन् । 

दयाराम अहिले बल्ल निर्माताहरुमा फिल्म फ्लपको कारणबारे बहस शुरु भएको बताउँछन् । भन्छन् –‘अहिले बल्ल निर्माताहरु बुझ्दैछन् । बजारमा विश्लेषण हुँदैछ ।’ उनी बजार विश्लेषण गरेर मात्र फिल्म निर्माण गर्दै जाँदा नेपाली फिल्मको बजारको अवस्था सुधार हुने बताउँछन् ।