काठमाडौं,९ असोज। नेपाल राष्ट्र बैंकले आगामी दशैंका लागि यस वर्ष पनि नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । घटस्थापना आसपासदेखि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको हो ।

हाल नयाँ नोट कति आवश्यक पर्ने हो भनेर राष्ट्र बैंकका प्रादेशिक कार्यालय र नोट कोष सुविधा लिएका बैंकहरुबाट विवरण संकलन भइरहेको छ । राष्ट्र बैंकले दशैं-तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ ।

विवरण संकलन भइसकेपछि वितरणको काम सुरु हुने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यले जानकारी दिए । शाक्यका अनुसार घटस्थापना आसपासदेखि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म नयाँ नोट वितरण गर्ने तयारी छ ।

बैंक तथा वित्तीय संस्थाहरुलाई भने उनीहरुको माग र ग्राहकको संख्या अनुसार नयाँ नोट उपलब्ध गराउने तयारी छ ।अघिल्ला दुई वर्ष पनि राष्ट्र बैंकले प्रतिव्यक्ति बढीमा १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट दिने गरेको थियो ।