बारा,२५ असोज । बाराको जितपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण पौडेल मृत अवस्थामा भेटिनुभएको छ । बिहीबार साँझ जितपुर सिमरा २, सिमरास्थित आफ्नै निवासमा पूर्वमेयर पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले बताउनु भयो ।
प्रहरीका अनुसार पौडेल घरमा घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन् । डीएसपी न्यौपानेका अनुसार अहिले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । बारामा सहकारी क्षेत्रमा समेत योगदान गर्नुभएका पौडेल २०७४ सालमा जितपुर सिमराको मेयरमा निर्वाचित हुनुभएको थियो ।
पौडेलले कांग्रेसका कृष्णव्रत सिंहलाई हराउनु भएको थियो । पौडेल नेकपा एमाले मधेश प्रदेश समितिका सचिवसमेत हुनुहुन्छ । यतिबेला एमाले मधेश प्रदेश समितिको अधिवेशनसमेत चलिरहेको छ । अधिवेशन चलिरहेकै बेला उहाँ घरमा नै मृत भेटनुभएको हो ।




















