काठमाडौं,५ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गर्नुभएको दशैँकाे टीका बहिष्कार गर्न आह्वान गर्नुभएको छ ।
राष्ट्रपतिको संस्था सबैको अभिभावक हुनु पर्नेमा गणतन्त्रले तीनजना राष्ट्रपति पाइसक्दा पनि ती सबै पार्टी, गुट र नेताका भएका उहाँले टिप्पणी गर्नुभएको छ । कुनै पनि राष्ट्रपति देशका हुन नसकेका मिश्रको टिप्पणी छ ।
अब त झन् सबै पार्टीले जटिल समयमा राष्ट्रपति किन आफ्नै मान्छे हुन पर्दो रहेछ भन्ने बुझिसकेकाले भविष्यमा यो स्थिति सुध्रिने कुनै सम्भावना नरहेको उहाँको टिप्पणी छ । ‘राष्ट्र र राज्यको रूपमा नेपालको क्षयीकरण चरम र भयावह स्थितिमा छ’, मिश्रको टिप्पणी छ । त्यसमाथि पनि हालै संविधान दिवसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद माफी पाएको व्यक्तिले जेलबाट मुक्त भएको केही हप्तामै घाँटी काटेर रुकुममा एक महिलाको हत्या गरेको घटना ताजै रहेको उहाँले स्मरण गराउनुभएको छ । ‘त्यसै गरी पौडेलले नै दिउँसै खुँडा हानी व्यक्ति हत्या गर्ने गुण्डा नाइकेलाई पनि कैद माफी गरिदिए, ती जघन्य अपराधीको मात्र हैन, सजाय माफी दिएर चोख्याउन खोज्ने राष्ट्रपतिको हातमा पनि आलो रगत लतपतिएको छ’, उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।
असत्यमाथि सत्यको जीतको प्रतिकका रूपमा मनाइने बडादशैँको मुखमा राष्ट्रपतिले गरेको उक्त पापकर्म आमजनताबाट कसैगरी अनुमोदन हुनु नसक्ने उहाँको टिप्पणी छ । ‘देश बनाउने आदर्शको कुरा गर्ने अनि देखादेख पीडितको आलो घाउमा नुन चुक छर्किने ’, मिश्रले प्रश्न गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले आह्वान गरेको दशैँको टीका लगाइदिने कार्यक्रमलाई यस पटक सबै आम सर्वसाधारणले बहिष्कार गरेर उहाँलाई पाप कर्मको नैतिक सजाय दिनु पर्ने उहाँको भनाइ छ । यसले चीर कालसम्मका लागि नेपालको राजनीतिमा एउटा अर्थपूर्ण सन्देश दिने मिश्रको विश्लेषण छ । ‘हामीले यस्ता किसिमका भद्र अवज्ञाहरू गर्न सकेको भए हजारौँ निहत्था नेपालीको ज्यान लिने जघन्य अपराधीहरू सत्तामा पुगेर दशकौँसम्म राज्य लूट मच्चाउन पाउँदैनथे, अपराधको यो हदको सामान्यीकरण हुन पाउँदैनथ्यो, अपराधीहरू सत्तामा हैन, जेलको काल कोठरीमा हुने थिए, अनि जघन्य अपराधीलाई सेटिङमा कैद माफी दिने हिम्मत कसैको हुँदैनथ्यो’, मिश्रले लेख्नु भएको छ ।
त्यसैले राष्ट्रपति पौडेलले आह्वान गरेको दशैँको टीका लगाइदिने कार्यक्रमलाई बहिष्कार गर्नुपर्ने उहाँको राय छ । ‘उनलाई पाप कर्मुको नैतिक सजाय दिऊँ र सिङ्गो राजनीतिक वृत्तलाई भद्र अवज्ञाको शक्ति एक पटक देखाइदिऊँ, अति भइसक्यो’, सामाजिक सञ्जाल फेसबुकमा मिश्रले लेख्नु भएको छ ।




















