काठमाडौं,१३ कात्तिक  । रिपोटर्स क्लबमा सोमबार पत्रकार सम्मेलनबीच भारती मानन्धर मञ्चमै बेहोस भएपछि भारती मानन्धरलाई

योगराज ढकाल (रिगल)को आममाफीविरूद्ध अनसन बस्दै आएकी उनलाई वीर अस्पताल लगिएको हो ।अहिले उनको उपचार जारी छ।

पत्रकार सम्मेलनमा वरिष्ठ अधिवक्ता विष्णु भट्टराई बोल्दै गर्दा कुर्सीमा बसिरहेकी भारती बेहोस भएकी हुन्।

भारतीकी श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा दोषी ठहर भई जेल सजाय काटिरहेका रिगललाई असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए। झन्डै ५० प्रतिशत सजाय भुक्तान गरेपछि रिगल रिहा भएका हुन्।

२०७२ असार २८ गते नेपालगञ्ज-८ का २९ वर्षीय चेतनमाथि खुँडा प्रहार भएको थियो। मानन्धरको मृत्यु पछि रिगल फरार थिए।मानन्धरको हत्या आरोपी रिगल दुई महिनापछि इन्काउन्टर हुने डरले  भदौमा अदालत उपस्थित आत्मसमर्पण गरेका थिए। त्यसपछि उनी मुद्दाको किनारा नलाग्दासम्म पूर्पक्षका लागि जेल पठाइएका थिए।

जिल्ला अदालत बाँकेले २०७६ वैशाखमा मानन्धरको हत्यामा रिगललाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो।तत्कालीन जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलासले घटनामा संलग्नमध्ये रिगलकै समूहका सोहनसिहं ढकाललाई १० वर्ष जेल सजायको फैसला सुनाएको थियो।

मानन्धरको हत्यामा संलग्न रहेको ठहर गर्दै अदालतले अन्य १२ जनालाई पनि कसुरअनुसार ३ वर्षदेखि १० वर्षसम्मको सजाय तोकेको थियो।

उनकै समूहका  माधव नेपाली, बिराज पाठक, हरि वली, मनीष चौलागाईं, प्रितम थापा, यमबहादुर बुढा मगर र  केशवबहादुर रोकायालाई जनही ३ वर्षको काराबास सजाय तोकेको थियो।

त्यस्तै प्रशान्त गौतम भनिने प्रेमध्वज खत्री, विशाल भनिने छविलाल बस्नेत, नवराज खत्री र मोहनलाल खड्कासहित सबैलाई जन्मकैदको सजाय तोकेको थियो।

उनको रिहाइविरूद्ध प्रतिपक्षसँगै सत्तापक्ष दलका नेताहरू र नागरिक समाजले समेत चर्को विरोध गरेका थिए।

आममाफी पाइ रिगल रिहा भएपछि भारतीले माइतीघरमा अनसन सुरू गरेकी थिइन्। अनसनकै क्रममा स्वास्थ्य बिग्रिएर असोज २५ गते वीर अस्पताल भर्ना भएपछि अनसन स्थगित गरेकी थिइन्।

रिगलको आममाफीविरूद्ध सर्वोच्चमा मुद्दा समेत परेको छ। असोज २५ गते पेशी चढेपनि हेर्न नमिल्नेमा परेको थियो। सो मुद्दाको सुनुवाइ भोलि (कात्तिक १४ गते)का लागि तोकिएको छ।