काठमाडौं । अहिले सर्वाधिक चर्चामा ‘प्रधानमन्त्रीज्यू, मेरो स्कुटरकोपछाडि बसेर वनस्थली जाऊँ, अनि थाहा हुन्छ, काठमाडौँमा मास्क लगाउनुपर्छ कि पर्दैन’ भन्ने भनाई चर्चामा रहेको छ । यो कुरा प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बिहीबारको बैठकमा नेपाली कांग्रेस सांसद रंगमती शाहीले भनिन्, ‘अनि थाहा हुन्छ, काठमाडौँको अवस्था कस्तो छ भनेर ।’ सांसद शाहीले प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री भएपछि काठमाडौँमा मास्क लगाउनुपर्ने बाध्यता हटेको भनी दिएको अभिव्यक्तिप्रति व्यंग्य गरेकी हुन् ।

उनले थपिन्, ‘एसी लगाएको गाडीको कालो सिसाबाट हेरेर काठमाडौँमा मास्क लगाउनुपर्दैन भनेर हुँदैन । प्रधामन्त्रीज्यू मेरो स्कुटीको पछाडि बस्नुस् । म स्कुटी चलाउँछु, तपाईं मास्क नलगाई सिंहदरबारबाट वनस्थली पुग्न सक्नुहुन्छ कि हुँदैन, अनि थाहा हुन्छ यहाँको वास्तविकता ।’ यो समाचार आजको नागरिक दैनिकमा छ । यो पनि, सरकारले जग्गाहरूको हिनामिनाबारे छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआईबी० को छानबिन समितिको म्याद डेढ महिना थपेको छ ।

यही असार १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी, सार्वजनिक, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरूको हिनामिनासम्बन्धी छानबीन समितिको प्रतिवेदन कार्यान्वयन गर्न साउन २८ गतेसम्म म्याद थप गर्ने निर्णय गरेको थियो । सरकारको २०७५ फागुन २८ गतेको निर्णयबमोजिम उक्त समिति गठन गरिएको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।