विराटचोक,२६ मंसिर । मोरङ सुन्दरहरैँचाका खेलकुद क्षेत्रका अभियन्ता युवेन गुरुङ सम्मानित भएका छन् । खेल क्षेत्रबाट स्थानीय सुन्दरहरैँचा नगरपालिकालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान गरेको भन्दै डिठ्ठा रत्न स्मृति अवार्डबाट गुरुङ सम्मानित भएका हुन् ।
सोमबार विराटचोकको जेसिज भवनको हलमा भएको इन्द्रपुर जेसिज वर्ष २०२३ को वार्षिक साधारण सभाको अवसरमा गुरुङलाई सम्मान गरिएको इन्द्रपुर जेसिज वर्ष २०२३ की अध्यक्ष विना सुवेदी आचार्यले जानकारी दिइन ।
जेसिजका पुर्व अध्यक्ष तथा डिठ्ठा रत्न बहादुर खड्का स्मृति प्रतिष्ठान संरक्षक रमेश खड्काले नगद पाचँ हजार सहित सम्मान पत्र,मायाको चिनोले उनलाई सम्मान गरेका हुन् ।
सुन्दरहरैँचा ९ का स्थायी वासिन्दा गुरुङ स्थानीय सगरमाथा युथ क्लवका पदाधिकारी समेत रहेर उनले फुटबल तथा फुटसल लगायतको खेलबाट नगरलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा परिचित गराउन योगदान गर्दै आएका छन् ।
सम्मानित भएका गुरुङले सम्मानले आफुलाई खेलकुद क्षेत्रमा अझ जिम्मेवारिका साथ लागिरहन प्रेरित गरेको र यस क्षेत्रको खेलकुद विकासमा अझ उच्च मनोबलका साथ लागिरहने प्रतिवद्धता पनि गरेका छन् ।
हाल उनि राष्ट्रिय फुटसल लिग कोशी प्रदेशका मुख्य प्रशिक्षकको जिम्मेवारीमा समेत रहेका छन् ।




















