पथरी,४ माघ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा खेलकुदको महाकुम्भ हुने भएको छ ।आज एक पत्रकार सम्मेलनमार्फत नगरपालिका अन्तर्गत रहेको नगर  खेलकुद विकास समितिको आयोजनामा माघ ६ देखि माघ १५ गतेसम्म “पथरीशनिश्चरे नगर खेलकुद महोत्सव–२०८०” को आयोजना हुने जानकारी दिईएको हो ।

महोत्सवमा फुटबल (महिला, पुरुष), भलिवल, क्रिकेट, बुद्धिचाल (चेस), तेक्वान्दो, कराँते, मिनि म्याराथन गरी ७ वटा विधामा प्रतिस्पर्धा हुने समितिका सदस्य सचिव नवीन खुलालले जानकारी दिए। 

नगरको वार्षिक स्वीकृत बजेटबाट यो महोत्सवका लागि १४ लाख ३१ हजारको बजेट तथा कार्यक्रम प्रस्ताव तयार गरेको खुलालले जानकारी दिए ।

नगरमा दर्ता भएका क्लवहरूबाट फुटबलमा १० वटा टिम रहेका छन् । क्रिकेटमा वडा स्तरबाट ९ वटा टिम रहेका छन् । भलिवलमा ७ वटा टिम सहभागी हुने भएका छन् । कराँतेमा पुरुष ३७ र महिला २० जना, तेक्वान्दोमा ५० जना, बुद्धिचालमा हालसम्म ८० जनाको नाम दर्ता भएको र १ सयजना सहभागी पुग्नसक्ने अनुमान आयोजकले गरेको छ । मिनि म्याराथनका लागि ३० जनाको नाम दर्ता भएको यसमा ५० जनासम्म पुग्ने अनुमान छ । महिला फुटबल टिम यो पटक २ वटा मात्रै रहेको छ । महिला खेलाडीहरूलाई प्रोत्साहनका लागि मात्रै भएपनि २ वटा टिम सहभागी गराएको आयोजकले जनाएको छ ।

No description available.खेलकुदका कार्यक्रममा बुद्धिचाल सिनभिलेज पाटिप्यालेसमा, क्रिकेट जिरिखिम्ती मैदानमा र अन्य खेलहरू पथरी बजार उत्तर प्रस्तावित पथरी रंगशालामा हुने आयोजकले जनाएको छ ।

फुटबलमा प्रथम १ लाख, दोस्रो ५० हजार, महिला फुटबल प्रथम १० हजार र दोस्रो ५ हजार नगद ट्रफी, मेडल रहेकाे छ । फुटबलमा प्रत्येक खेलमा म्यान अफ दी म्याच र फाइनलमा विधागत पुरस्कारहरू रहेका छन् जसमा गोल्डेन बल, गोल्डेन बुट र गोल्डेन ग्लोव्सको व्यवस्थापन गरेको छ ।

भलिवल खेलमा पहिलो हुनेले २५ हजार र दोस्रोले १५ हजार, क्रिकेटमा पहिलो २० र दोस्रो १५ हजार सहित विधागत पुरस्कारहरू रहेका छन् । कराँते र तेक्वान्दोमा प्रथम पुरस्कार ५ हजारका दरले रहने छ । कराँते र तेक्वान्दो उमेर समुह अनुसार हुने छ । मिनि म्याराथनमा प्रथम ६ हजार, दोस्रो ४ हजार र तेस्रो हुनेले २ हजारका दरले नगद पुरस्कार पाउने छन् । म्याराथनमा महिला र पुरुष दुवै सहभागीको अलग अलग मुल्याङ्कन गर्ने तयारी छ । मिनि म्याराथन माघ १२ गते शुक्रबार विहान गर्ने तयारी आयोजकको छ ।

यसवर्ष पहिलो वर्ष भएकाले व्यवस्थापन गर्न कठिन भइरहेको खेलकुद विकास समिति संयोजक दिपक राईले बताए। सकेसम्म बढि खेलहरू समावेश गर्ने कोसिस गरिएको छ । महोत्सवका लागि तयारी पनि अन्तिम चरणमा पुगेको छ । महोत्सवमा सबै खेलप्रेमीहरूलाई सहभागी हुन् पनि संयोजक राईले अनुरोध गरे। महोत्सवको उद्घाटन माघ ६ गते शनिवार दिउँसो १२ बजे हुने छ ।