इटहरी,१२  माघ  । एमाले नेत्री उषाकला राई बाबुको किरियामा कर्ममा बसेकी छिन् । उनका बाबु रुद्र राईको बिहीबार साँझ ८७ वर्षको उमेरमा निधन भएको थियो । आज (शुक्रबार) पशुपति आर्यघाटमा अन्त्यष्टि गरेसँगै राईकी एक्ली छोरी उषाकलाकपाल मुण्डन गरेर किरियामा बसेकी हुन् ।

किरियाको १३ मध्ये ६ दिन काठमाडौँमा बाँकी ७ दिनको संस्कार गृह जिल्ला खोटाङमा हुने उषाका पति एमाले नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले जानकारी दिए ।

पाँच वर्षअघि आमा लक्ष्मी राईको निधन हुँदा पनि राई कपाल मुण्डन गरेरै किरियामा बसेकी थिइन् । पिता राईको जन्म वि.स. १९९३ मा खोटाङको खाल्ले सेरामा भएको थियो । उनी सुरुवाती दिनदेखि नै पुष्पलालसँग सम्पर्कमा पुगेर कम्युनिष्ट आन्दोलनमा सहभागी हुँदै आएका थिए ।

पुष्पलाल समूहको सदस्य लिई भूमिगत राजनीति सुरु गरेका राई पञ्चायतकालमा प्रधानपञ्च, बहुदल आएपछि २०४७ सालमा एमालेको पहिलो खोटाङ जिल्ला सचिवका रुपमा २०४७ सालमा काम गरेका थिए । उनी २०५४ सालमा खाल्ले गाविसको गाविस अध्यक्ष निर्वाचित भएको तामाङले जानकारी दिएका छन् । खानिडाँडा विमानस्थल बनाउन उनको परिवारले निःशुल्क जग्गा दिएका थिए ।