- भारतीय अभिनेत्री पुनम पाण्डे जिउँदै : शुक्रबारदेखि नै पूनम पाण्डेको मृत्युको चर्चा जताततै भएको थियो । उनको निधनको खबर इन्स्टाग्राम पोस्ट मार्फत दिइएको हो । तर अहिले यी अभिनेत्री आफैंले आफ्नो भिडियो शेयर गर्दै आफू जिउँदै रहेको बताएकी छिन् र यो भिडियोमा पुनमले पनि यो षड्यन्त्रको सत्यता उजागर गरेकी छिन् ।
मुम्बई,२० माघ । मृत्यु भनिएकी भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डे जीवित रहेकी खुलेको छ । अभिनेत्रीले शनिबार दिउँसो सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गर्दै क्यान्सरसम्बन्धी जनचेतना फैलाउन 'पब्लिसिटी स्टन्ट' गरेको बताएकी छन् । भिडियोमा उनले सबैसँग माफी पनि मागेकी छन् ।
क्यान्सरसम्बन्धी जनचेतना फैलाउन मृत्युको भ्रम फैलाएको उनले बताएकी छन् । शुक्रवार उनको इन्स्ट्राग्राममार्फत् नै मृत्यु भएको जानकारी दिइएको थियो ।
भारतीय सञ्चार माध्यमका अनुसार आइतबार बिहान लाइभ आएर जानकारी दिन चाहे पनि आफ्नो निधनको खबरले मानिसहरू अन्योलमामा पर्न थालेपछि शनिबारै भिडियो शेयर गरेर माफी माग्ने निर्णय लिएको बताएकी छन् ।
‘म जिउँदै छु। पाठेघरको मुखको क्यान्सरले गर्दा म मरेको होइन । दुर्भाग्यवश, पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाएका अन्य महिलाबारे पनि म यसो भन्न सक्दिनँ,' भिडियोमा पूनमले भनेकी छन्, ' म यहाँ के भन्न चाहन्छु भने पाठेघरको मुखको क्यान्सर अरु क्यान्सरजस्तो होइन। यो रोक्न सकिन्छ। तपाईंले आफ्नो परीक्षण गर्नु र एचपीभी खोप लिनुपर्छ। हामी यो सबै गर्न सक्छौं, ताकि यो रोगको कारण अरू कसैले आफ्नो जीवन गुमाउनु नपरोस् ।’
पुनम पाण्डेको यो भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि अभिनेत्रीलाई निशाना बनाएका छन् । अभिनेत्रीको पोष्टमा कमेन्ट गर्दा धेरैले उनको ठट्टाका लागि आलोचना गरेका छन् ।
यसअघि शुक्रबार बिहान पाण्डेको मृत्युको हल्लाले भारतभर सनसनी फैलाएको थियो । भारतमा मात्रै होइन उनको निधनको खबर नेपाली सञ्चार माध्यममा समेत प्रकाशित भएको थियो ।




















